अर्को महिना पोखरामा हुने नेपाल–चीन क्रस कन्ट्री दौड प्रतियोगिताका लागि तयारी तीव्र

IMG-20241012-WA0258

पोखरा: चालु अंग्रेजी वर्ष २०२४को सेप्टेम्बरमा ९६ हजार ३ सय ५ विदेशी पर्यटक नेपाल आउँदा चिनियाँ पर्यटकको संख्या ५ हजार ३८ छ। अगस्टसम्म नेपाल भ्रमण गर्ने ७ लाख पर्यटकमध्ये चिनियाँको संख्या ६ हजार ६ सय १४ थियो।
विश्वकै दोस्रो धेरै जनसंख्या भएको चीनबाट धेरै पर्यटक नेपाल आइदिऊन् भन्ने चाहना पोखराका पर्यटन व्यवसायीको हुने नै भयो। तर, यहाँका व्यवसायीले सोचेजस्तो भएको छैन।
चिनियाँ पयर्टकलाई आकर्षित गर्न तथा चीनमै नेपाल प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना हुने क्रम भने रोकिएको छैन। यही क्रममा नवंबर १०मा पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना हुँदैछ। हिमालयन टुरिजम फोरम नामक संस्थाले आयोजना गर्ने सो दौडको मुल नारा ‘समृद्धिको लागि साझा दौड’तय गरिएको छ।
चीनको युनान प्रान्तकै परिकल्पनामा हुन लागेको सो प्रतियोगितालाई नेपालस्थित चिनियाँ राजदूताबास, युनान प्रान्तीय खेलकुद ब्यूरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र सिल्क रोड सिटीज एलायन्सले सघाउने आयोजक संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको समूहगत विधामा करिब ३० टिमको सहभागिता रहने छ। जसमा १० चिनियाँ र २० नेपाली टोली रहनेछन्।
च्यालेन्ज इन्डिभिजुअल प्रतिस्पर्धामा ८० चिनियाँ खेलाडी र १२० नेपाली खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ। टिम र व्यक्तिगत प्रतिस्पर्धाको कुल दूरी ५० किलोमिटर हुनेछ। जसमा ट्रेल दौड, साइक्लिङ र बोटिङ हुनेछ। विद्यार्थी दौडतर्फ ५ किलो मीटर विद्यार्थी दौडमा करिब पाँच सय खेलाडीको सहभागिता रहनेछ। चिनियाँ पक्षको सहयोगमा पोखरामा आयोजना हुन लागेको यो तेस्रो संस्करणको प्रतियोगिता हो। प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ३६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement