गान्तोक: गुजरातमा आयोजन हुने ‘३६औं राष्ट्रिय खेल’ मा अल सिक्किम स्केट बोर्डिङ एसोसिएसनका सदस्य थुप्देन शेर्पाले सहभागी बन्ने अवसर पाएका छन्। राजधानीको नामनाङ निवासी शेर्पा राष्ट्रिय खेलमा यस विधाका लागि चयनित बन्ने सिक्किमबाट एक्लो प्रतिभागी हुन्। ३६औं राष्ट्रिय खेल आगामी सेप्टेम्बर महिनामा गुजरातको अहमदाबादमा भइरहेको जानकारी संघका अध्यक्ष तेन्जिङ सी. भोटियाले आज एक संवाददाता सम्मेलनमा दिए। उनले स्केट बोर्ड खेलको एउटा नयॉं विधा भएकाले रष्ट्रिय खेलमा पनि यसलाई पहिलोपल्ट अन्तर्भुक्त गरिएको जानकारी गराए। तिनले यस विधाका लागि सिक्किमबाट थुप्देन शेर्पा चयनित भएको र उनी विगत चार सालदेखि यस खेलमा संलग्न रहेको जानकारी गराए।
उनले राष्ट्रिय खेलका लागि पूर्वोत्तर राज्यहरूबाट केवल तीनजना चयनित भएको र त्यसमा सिक्किमका थुप्देन पनि एक रहेको बताए। उनले सिक्किममा स्केटर्सहरूको अभ्यासका लागि अहिलेसम्म पूर्वाधार निर्माण भएको छैन भन्दै स्केटर्सहरूले लाल बजारको छतमा अभ्यास गरिरहेको बताए। तर, राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन राम्रो पूर्वाधारको आवश्यकता पर्ने हुँदा थुप्देनलाई अभ्यासका लागि नेपालको बुटवल पठाउने योजना भइरहेको उनले अवगत गराए।
अध्यक्ष भोटियाले राष्ट्रिय खेलमा थुप्देनले राम्रो प्रस्तुति दिन सकुन् भनेर नै यस्तो निर्णय लिइएको बताए। उनले यसका लागि ओलम्पिक एसोसिएशन अफ् सिक्किमले पनि केही आर्थिक सहायता दिइरहेको जानकारी गराए। उनले संघ नयॉं भएकाले आर्थिक रूपमा कमजोर रहेको बताउॅंदै संघ अनि खेलाड़ीहरूलाई सहयोगका लागि सरकारलगायत इच्छुक व्यक्तिहरूलाई अगाडि आइदिने अपील पनि गरे।