खरसाङ: खरसाङको लङ्भ्यु चियाबारीमा केवल १० प्रतिशत मात्र बोनस दिने भनेपछि श्रमिकहरू लगातार अनशनमा बसिरहेका छन्। उक्त अनशनको पाँचौ दिन पुगेको छ। तर आज दशैँको टीकाको दिन पनि लङभ्यू चिया बगानका श्रमिकहरू अनशनमा बसेका छन्। लङभ्यू चिया बगानका श्रमिकहरू बीस बोनसको मागमा अडिग छन्। विगत ३ महिना अघिदेखि आन्दोलनमा रहेका श्रमिकहरूले बोनस बैठकको समय पनि सडक आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए। तर बोनस बैठकलाई हस्तक्षेप गर्दै सरकारले १६ प्रतिशतको एडवाइजरी बोर्डको घोषणा गऱ्यो। पहाडका विभिन्न बगानहरूमा १६ प्रतिशतको दरले बोनस प्रदान गरियो। जसको श्रमिकहरूले विरोध गरे।

तर लङभ्यूमा भने बगान स्तरमा कुनै प्रकारको बैठक हुन सकेन। श्रमिकहरूलाई जबरजस्ती १० प्रतिशत बोनस एकाउन्टमा हालिदियो। त्यो पनि कतिपय श्रमिकहरूले पाएनन्। स्टाफहरूले बोनस पाएका छैनन्। अफिसमा बोनस बैठक चल्दा चल्दै म्यानेजर र बडाबाउ छोटा बाउहरू गायब भएक बताइएको छ। त्यसैले श्रमिकहरूले अनशनको मार्ग चुनेका छन्। लङ्भ्युमा चियाबारी श्रमिकहरूद्वारा थालिएको अनशनको आज पाँचौ दिन हो।

दशैँको टीकाको दिन पनि श्रमिकहरू अनशनमा बस्न बाध्य बनेका छन्। दशैंमा टिकाको दिन लङ्भ्यु चियाबारीमा चिया श्रमिकहरू र सामाजिक कार्यकर्ताहरू गरेर १६ जना अनशनमा बसेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल प्लान्टेशन इम्प्लोइज युनियनको सह सचिव सुमेन्द्र तामाङ र स्थानीय श्रमिक लक्ष्मी छेत्रीले दशैंको टिकाको दिन पनि अनशनमा बस्नु परेको बाध्यता विषयमा जानकारी गराएका छन्।