राजगञ्ज: गाई चोरी गर्न आएको आशंकामा एकजना युवकलाई सामूहिक कुटपिट गर्दा तिनको मृत्यु भएको छ। उक्त घटना राजगञ्ज ब्लकको भारत-बङ्ग्लादेश सीमा अन्तर्गत चौलहाटी छेउ बरुआपाड़ा गाउँमा भएको हो। स्थानीय सूत्रअनुसार गत अबेर राति चौलहाटी संलग्न बरुआपाड़ा गाउँमा गाई चोरहरू दुईवटा घरमा पसेको बारे गाउँलेहरूले खबर पाए। यसको साथै ती चोरहरूले पनि आफुहरू गाई चोर्न आएको कुरा गाउँलेहरूले थाहा पाएको भनक पाएपछि त्यहाँबाट चम्पट कसे अनि नजिकैको चिया कमानमा रातभरि लुकेर बसे। यसपछि गाउँलेहरूले चिया कमानलाई चारैतिरबाट घेरेर बिहानसम्म पर्खे। बिहान हुनसाथ एकजना युवक कमानबाट निस्किएर भाग्ने प्रयास गरिरहेको समय तिनलाई पक्रिएर गाउँलेहरूले सामुहिक कुटाइ गरे, जसले गर्दा युवकको मृत्यु भएको बताइएको छ। अर्कोतिर, घटनाको खबर पाएपछि राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा ल्याउनको साथै पोस्टमार्टमको लागि पठाइदिए। तथापि मृतक युवक अझसम्म चिन्हित भएको छैन। राजगञ्ज थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।