मोरंग (बिराटनगर): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दसैँ मनाईदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाउन आग्रह गरेका छन्। कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एकापसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दसैँ मनाउन उनले आग्रह गरेका हुन्। विजया दशमी २०२४ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद्लाई साहसमा बदल्न सबैको सहकार्य र हातेमालो जरूरी भएको बताए। ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ का रूपमा रहेको नेपालीहरूको महान् चाड दशैंको शुभ अवसरमा कोशी प्रदेशसहित देश, विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मुख्यमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे। दसैँले सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल कामहरू गर्न हौसला र सकारात्मक उर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस् भनी उनले कामना गरेका छन्। शुभकामना सन्देशमा भनिएको छ,‘ दसैँका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व अझ बढी छ। हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन्।