काठमांडू: अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रबर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिनका लागि सञ्चालित १० दिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ।
देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको महत्वपूर्ण भूमिका हुने भएकाले साना तथा घरेलु उद्योगहरूको प्रबर्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सम्बद्ध उद्यमीहरूले जोड दिएका छन्। ‘नेपाली उत्पादनको प्रबर्धन हाम्रो अभियान’ नाराका साथ घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमांडू महानगरपालिकाले आयोजना गरेको मेलाको समापन गर्दै संघकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रबर्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने बताइन्।
उनले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रबर्धनका साथै बजारीकरण गरी बेरोजगारीलाई केही हदसम्म घटाउन सकिने बताउइन्।
काठमांडू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरूको प्रबर्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए।

काठमांडू महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिँदै बाँकी १७ वटा वडामा पनि चाँडै उक्त कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले लघु, घरेलु तथा साना उद्योगहरूको विकासमा राज्यले नीतिगत रुपमा व्यवस्था गरे पनि त्यो व्यावहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताउछन।
काठमांडू महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले लघु, घरेलु तथा साना उद्योहरूको प्रबर्धन र बजारीकरणमा सघाउन मेला आयोजना गरिएको बताए।
काठमांडू महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यम प्रारम्भ गर्ने सोच बनाएकाहरूलाई समेत लक्ष्य गरी सञ्चालन गरिएको मेलामा गुणस्तरीय उत्पादन, बजारीकरण गर्ने, ‘ब्राण्डिङ’बारे उद्यमीहरूले अनुभव आदानप्रदान गरेका थिए।

मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका जैविक उत्पादन, कस्मेटिक, हस्तकलाका सामग्री, चोयाको सामान, तयारी पोशाक, गहना, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, मखमलका जुत्ता, काष्ठकलाका सामग्री, प्लाष्टिक पुनःप्रयोग गरेर बनाइएका वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायत ७० वटा कक्षमा उत्पादन प्रदर्शन गरिएका थिए।










