सुनसरी (धरान): बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपनि उपमेयर रिसाएका छन्। चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। उनले बुधवार अक्टूबर १४ बाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिए पछि उपमेयर बिच्किएका हुन्। गुरुबारबाट सार्वजनिक बिदा हुने भएको बुधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। मेयर साम्पाङ अक्टूबर १४सोमवारदेखि धरान बाहिर जाने कार्यक्रम तय भएको छ। यसअघि पनि विभिन्न पालिकाहरूले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा विवाद हुँदै आएको थियो। उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनै पनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था भए पनि मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेका हुन्। उपमेयर आइन्द्र विक्रम बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताए। उनले भने, ‘उनले ऐन कानून पढेनन होला त्यही भएर वडाध्यक्षलाई कार्यवाहकको पत्र दिए।’ कार्यवाहक दिने विषयमा आफूसँग कुनै सल्लाह नभएको उपप्रमुख बेघाले बताए। स्थानीय तह सञ्चालन ऐन २०१७ को दफा १६ को ९क० १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ। यदि उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख छ। मेयर साम्पाङले भने ऐन विपरीत उप प्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।