हनी ट्रयापिङ प्रकरणमा इन्स्पेक्टर शाहीलाई फौजदारी मुद्दा चल्ने, एसपी समेत तानिने

IMG-20241011-WA0178

काठमांडू: प्रहरीकै मिलेमतोमा भएको भैंसेपाटी हनी ट्रयापिङ घटनाको विषयमा छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ। डीएसपी नरहरि अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको हो। समितिले प्रतिवेदनमा निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई फौजदारी मुद्दा नै चलाउनु पर्ने सिफारिस गरेको छ। प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ। सुनसरीका तत्कालीन एसपी कमल थापाको समेत हनी ट्रयापिङ प्रकरणमा शंकास्पद भूमिका देखिएकाले उनीमाथि कारबाही हुनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले बतायो। यद्यपि भ्याली प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा दोषी किटान गरिएकाहरुको नाम बताउन चाहेनन्। प्रतिवेदन बुधबार भ्याली प्रहरी कार्यालयमा बुझाएको र प्रहरी प्रधान कार्यालयमा पठाइने एसएसपी घिमिरेले बताए। प्रहरी प्रधान कार्यालयबाटै जानकारी लिन सकिने उनको भनाइ छ। प्रतिवेदन कार्यान्वयन भएमा एसपी थापामाथि पनि छानबिन हुने स्रोत बताउँछ। भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो। एक युवतीलाई उजुरी हाल्न लगाएर पूर्व योजनाअनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको स्रोतको दाबी छ। हनीट्रयापिङ प्रकरणमा इन्स्पेक्टर शाही यस अघि नै निलम्बनमा परिसकेकी छिन्। हनी ट्रयापिङ गिरोहका नाइके ताज इस्लाम सहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। इन्स्पेक्टर शाहीले निलम्बन नहुनका लागि शक्ति केन्द्र गुहारेकी थिइन्। भैंसेपाटी हनीट्रयापिङ प्रकरणको पटाक्षेप गर्नका लागि एक अर्का एसपीले पीडित ब्यापारीसँग पटक पटक भेटेको स्रोत बताउँछ। हनी ट्रयापिङमा संलग्न ताज इस्लामको गिरोहले विगतमा पनि प्रहरीसँगको सेटिङमा धेरैलाई फसाइसकेको खुलेको छ। यो गिरोहको अर्को निशाना एक पत्रकारलाई फसाउने थियो। जसमा एसपी र इन्स्पेक्टर शाहीले इस्लामलाई अगाडि बढाइसकेको अवस्थामा ती पत्रकार आफैं सजग भएर जोगिन सफल भएका थिए। तर उनीहरु उनलाई फसाउने योजनाबाट पछि हटि नसक्दै भैंसेपाटी प्रकरण सार्वजनिक भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement