गान्तोक: देशका रक्षा मन्त्री राजनाथ सिंह भोलि (शुक्रवार) दुई दिवसीय भ्रमणमा सिक्किम आइरहेका छन्। यस क्रममा केन्द्रिय रक्षा मन्त्रीले गान्तोकमा आयोजना हुने सेनाका कमाण्डरहरूको सम्मेलनमा भाग लिनेछन् भने ‘प्रेरणा स्थल’ को उद्घाटन पनि गर्नेछन्।
रक्षा मन्त्री राजनाथ सिंह ११ अक्टोबरका दिन सिक्किम आउने छन् भने १२ अक्टोबरका दिन फर्किने जानकारी पीआईबीले विज्ञप्तिमा जनाएको छ। यस अवसरमा भारतीय सेनाले गान्तोकमा ऐतिहासिक सेना कमाण्डरहरूको सम्मेलन आयोजना गरिरहेको छ। उक्त सम्मेलनमा रक्षा मन्त्रीलगायत भारतीय सेनाका वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्।
यस सम्मेलनले महत्वपूर्ण रणनीतिक मामिलाहरूलाई सम्बोधन गर्ने, रक्षा तयारीको बारेमा छलफल गर्ने र द्रुत रूपमा विकसित सुरक्षा वातावरणमा परिचालन तयारी बढाउने लक्ष्य राखेको बताइएको छ। उच्च पदस्थ अधिकारीहरूको यस भेलाले आफ्नो परिचालन क्षमतालाई सुदृढ गर्दै समकालीन चुनौतिहरूसँग अनुकूलन गर्ने भारतीय सेनाको प्रतिबद्धतालाई दर्साउॅंछ।
रक्षा मन्त्री राजनाथ सिंहले शुक्रवार ‘प्रेरणा स्थल’ को पनि उद्घाटन गर्नेछन्। उक्त स्मारक ती २२ बहादुर जवानहरूको सम्झानामा निर्माण गरिएको हो जसको ३-४ अक्टोबर, २०२३ मा आएको विनाशकारी टिस्टा बाढ़को चपेटमा परेर निधन भएको थियो। बरदाङमा निर्मित यो स्मारक जवानहरूको बहादुरी र कर्तव्यको पथमा बलिदानको प्रमाण हो जसले आगामी पुस्ताहरूलाई प्रेरणा प्रदान गरिरहने छ।
यसैगरी, १२ अक्टोबरका दिन रक्षा मन्त्रीले पारम्परिक शस्त्र पूजामा भाग लिनेछन्। यस समारोह अन्तर्गत कलश पूजा र वाहन पूजा पनि सम्पन्न गरिने बताइएको छ।










