दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा बिहीवार भएको रोमाञ्चक म्याचमा सिक्किम (जोरथांग)-को फ्यूचर स्टार स्पोर्टिंग क्लबले युनाइटेड खरसाङ फूटबल क्लबविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रीतम सन्यासी र टेडन लेप्चाले गोल गरे।

यसरी यूकेएफसी-बाट बीरेन प्रधानले गोल गरे। विजेता टीमका प्रकाश ठटाललाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच ३० र ३१ अक्टोबरमा हुनेछ। यसरी फाइनल ८ नोभेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।










