खरसाङ: खरसाङमा भव्यताको साथमा फूलपाती सांस्कृतिक शोभायात्रा निकालिएको छ। खरसाङ नगरपालिका र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको संयुक्त आयोजना तथा फूलपाती समारोह समितिको आयोजनामा खरसाङमा भव्य रूपमा फूलपाती शोभायात्रा आयोजना गरिएको छ। खरसाङको मोटर स्ट्याण्डबाट विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थिति र सहभागितामा शुरू भएको सांस्कृतिक शोभायात्रा खरसाङ बजार परिक्रमा गर्दै अस्पताल मोड़बाट वर्ध्दमान रोड हुँदै पुनः मोटर स्ट्याण्ड पुगेर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा समापन गरिएको छ।

यसपालीको फूलपाती शोभायात्रामा विशेष गरेर दुईवटा घोड़ाको सवारीको साथमा नौमति बाजाको धुनमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका विभिन्न झाँकीहरूका साथमा फूलपाती सांस्कृतिक शोभायात्रा निकालिएको थियो। यसपालीको फूलपाती शोभायात्रामा मुख्य आकर्षणको रूपमा खुकुरी नृत्य रहेको थियो। शोभायात्राको समय पुरानो बाटा परिसरमा खुकुरी नृत्य प्रस्तुत गरिएको थियो भने शोभायात्राको समापनमा खरसाङको मोटर स्ट्याण्डमा पनि खुकुरी नृत्य प्रस्तुत गरिएको थियो। यसको साथै मोटर स्ट्याण्डमा नानीहरूले मारूनी नृत्य पनि प्रस्तुत गरेका थिए। फूलपाती शोभायात्राको समापन खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको साथमा गरिएको छ।

उक्त सम्मान कार्यक्रममा खरसाङ क्षेत्रमा खेलकूदमा सबैलाई सदैव प्रोत्साहन गर्ने र लामो समयदेखि कार्य गर्दै आईरहेका समाजेसेवी तथा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनलाई सम्मान जनाइएको छ। यसको साथै खरसाङ क्षेत्रलाई प्रतिनिधित्व गर्दै गोर्खा जातिलाई गौरान्वित बनाउने दुईजना डाक्टरेट गरिसकेका व्यक्तिहरूलाई पनि सम्मान जनाइएको छ। खरसाङमा आयोजित सांस्कृतिक फूलपाती शोभायात्रामा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामा लगायत खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

खरसाङमा निकालिएको सांस्कृतिक शोभायात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सांस्कृतिक फूलपाती शोभायात्रा आयोजक समितिको अध्यक्षा आशा मुखिया लामाले यसपाली खरसाङमा विभिन्न संघ संस्थाहरूका सहभागितामा भव्य रूपमा फूलपाती शोभायात्रा आयोजना गरिएको जानकारी गराउँदै सहभागी बनेका सबै संघ संस्थाहरूलाई धन्यवाद दिएका छन्। उनले यसपालीको शोभायात्रामा दुईवटा घोड़ सवारीसहित नौमति बाजा र मुख्य आकर्षणको रूपमा खुकुरी नृत्य रहेको बताएकी छन्। त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको सचिव एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यसपाली खरसाङमा भव्य रूपमा फूलपाती शोभायात्रा आयोजना गरिएको र उक्त शोभायात्रा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको साथमा समापन गरिएको जानकारी गराएका छन्।

उनले यस अवसरमा खरसाङमा खेलकूदलाई लिएर लामो समयदेखि कार्य गरिरहेका समाजसेवी मोहन योञ्जनलाई सम्मान जनाइएको जानकारी गराएका छन्। उनले उक्त सम्मान कार्यक्रममा खरसाङ क्षेत्रलाई प्रतिनिधित्व गर्दै डाक्टरेट गरेर गोर्खा जातिलाई नै गौरान्वित बनाएका दुईजनालाई पनि सम्मान जनाइएको पनि जानकारी गराएका छन्।










