गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज अन्तर्राष्ट्रीय बालिका दिवस पालन गरियो। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा शिक्षा र सामुदायिक पहलहरू मार्फत लैङ्गिक समानतालाई बढाउन र युवा किशोरीहरूलाई सशक्त बनाउन सिक्किमले धेरै प्रगति गरेको बताए। सिक्किम सरकारले शैक्षिक आकांक्षालाई बढावा दिने र बहिनी योजनाजस्ता परिवर्तनकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए। उनले थप जानकारी गराए अनुसार विश्व बैंकले सिक्किमको प्रशिक्षण, अप-सीलिङ, र प्रमुख क्षेत्रहरूमा महिला र युवाहरूको लागि रोजगारीका अवसरहरू प्रदान गर्ने प्रयासहरूलाई बलियो बनाउन एउटा नयाँ परियोजनालाई अनुमोदन गरेको अवगत गराए। देशका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनवरी वर्ष २०१५मा शुरू गरिएको बेटी बचाओ, बेटी पढाओ योजनाबारे उनले प्रकाश पारे। यो पहलले किशोरीहरूको लागि न्याय सुनिश्चित गर्न र भेदभावमुक्त समाजको लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको जानकारी गराए।
यस प्रकारको पहलले प्रत्येक किशोरीलाई शिक्षा, स्वास्थ्य सेवा र व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि अवसरहरूमा पहुँच सुनिश्चित गर्ने राज्य सरकारको सामूहिक प्रतिबद्धताको उदाहरण दिएको बताए।











