पाकिम: पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाले आज जिल्ला प्रशासनिक कार्यालयमा डाकिएको एक बैठकको अध्यक्षता गरे। यो संयुक्त कार्य समितिसित समन्वय बैठक थियो। संयुक्त कार्य समितिले जिल्ला सहकारी विकास समितिको उपसमितिको रूपमा काम गर्दै आएको छ। मुख्य गरि ग्रामीणस्तरमा नयाँ बहुउद्देश्यीय दुग्ध तथा मत्स्यपालन सहकारी संस्थाहरूलाई सुदृढीकरण र स्थापना गरेर सहकारीको माहोल तयार गर्दै यसको अभिवृद्धिमा सेवा गर्दै आएको छ। बैठकमा सहकारिता विभागका अतिरिक्त रेजिष्ट्रार केसाङ याङ्कीले समितिको भूमिका र जिम्मेवारीबारे जानकारी गराइन्। यसबाहेक, उनले प्रत्येक ग्राम पञ्चायत एकाइभित्र प्राथमिक कृषि ऋण सोसाइटीको गठन र विकासको आवश्यकतालाई जोड दिइन् साथै ग्रामीणस्तरमा सहकारी संस्थाहरूले सामना गर्ने चुनौतीहरूमाथि पनि बताए। अतिरिक्त जिल्लापालले यस क्षेत्रमा सहकारी प्रणाली स्थापना गर्न दुग्ध र मत्स्यपालन क्षेत्रको प्रगति र सम्भावनाबारे जायजा लिए। उनले नाबार्ड र सिस्को ब्यांकले सोसाइटीहरूलाई सहयोग गर्न उपलब्ध गराएको सहयोग सुविधाबारे जानकारी पनि मागे। उनले स्थानीय दुग्ध उत्पादक सहकारी संस्थालाई सुदृढ गर्ने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरे। उनले आर्थिक वृद्धिलाई बढावा दिन र मार्केटिङ रणनीतिहरू बढाउन जिल्लामा दुवै समिति सक्रिय बन्ने सल्लाह पनि दिए। उनले सहकारी संस्थाहरुको अभिवृद्धि र रोजगारीका अवसरहरु सृजना गर्न सुझाव समेत दिएका थिए।











