खरसाङ: दार्जिलिङका सांसद राजु विष्टले पहाड़को चारवटा चियाबारीका श्रमिकहरूका लागि आफ्नो निजी कोषबाट दैनिक आवश्यकताका ५ ट्रक सामानहरूका पठाएका छन्।
चाड़बाड़को समय शुरु भएको छ। तर म चिया बगानका श्रमिकहरूको बारेमा चिन्तित रहेको र विशेष गरी लामो समयदेखि बन्द रहेका चिया कमानका श्रमिकहरूको चिन्ता लागेको छ भन्दै दार्जीलिङका सांसद राजु विष्टले श्रमिकहरूको आफ्नो कुनै गल्तीबिना पनि आज पीड़ित छन् किनकि चिया कम्पनीहरूले बगान छोड़े अनि राज्य सरकार आजसम्म उनीहरूलाई न्याय दिन असफल बनेको छ भनी बताएका छन्।

बन्द गरिएका उद्योगहरूका मजदूरहरूलाई वित्तीय सहायताको योजना अन्तर्गत उनीहरू यसको हकदार छन्। तर हाम्रो क्षेत्रमा वर्तमानमा बन्द रहेको चार चियाबारीहरु पेशोक चियाबारीमा ५७० श्रमिकहरू, पान्दाम चियाबारीमा २६८ श्रमिकहरू, कलेज भ्याली चियाबारीमा ६६० श्रमिकहरू, सिगताम चियाबारीमा ८५० श्रमिकहरू यस्ता छन् जहाँ पश्चिम बङ्गाल सरकारले श्रमिकहरूलाई १५०० प्रति महिना पनि दिएको छैन भनी सांसद राजु विष्टले आरोप लगाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्: “श्रमिकहरूका साथ मेरो ऐक्यबद्धता र समर्थनको प्रतिकस्वरूप मैले यी चार चिया बगानहरूका श्रमिकहरूका निम्ति मेरो निजी कोषबाट दैनिक आवश्यकताका ५ ट्रक सामानहरूका पठाउँदैछु। मलाई आशा छ कि यसबाट हाम्रा चिया श्रमिकहरूलाई बड़ा दशैं खुशीसँग मनाउन केही हदसम्म मद्दत मिल्नेछ।”

उनले अघि भनेका छन्: ‘मैले सबै चिया बगान श्रमिकहरूको लागि सम्मानजनक ज्याला अनि बोनस र पर्जा पट्टा अधिकारहरू सुनिश्चित गर्ने दिशामा मेरा प्रयासहरू जारी राख्नेछु। म हाम्रा सबै चिया बगान श्रमिकहरूलाई बड़ा दशैँको हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंहरूले चुन्नुभएको सांसदले तपाईंको ख्याल राखेको हुन्छ र ऊ सधैँ तपाईंको साथमा उभिएको पाउनुहुनेछ।’











