पोखरामा हुने तेस्रो पर्वतीय क्रसकन्ट्री दौडमा नेपाल र चीनका खेलाडीहरु भिडने

IMG-20241009-WA0241

पोखरा: पोखरामा तेस्रो पटक अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ। हिमालयन टुरिजम फोरमले नवंबर ७ देखि १० सम्म प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा नेपाल र छिमेकी देश चीनका खेलाडी सहभागी हुनेछन्।
प्रतियोगिताका प्रेस संयोजक प्रतीकराज पहारीले दौड, साइक्लिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने जनाएको छ। प्रतियोगिता सफल बनाउन १५ उपसमिति गठन गरिएको छ। यो खेलले पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ। नेपाल-चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास गरिएको संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले बताए।
चिनियाँ खेलाडीका लागि नवंबर ७ मा कुङमिङबाट पोखरासम्म अन्तराष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको छ। काठमांडू तथा नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीका लागि आयोजकले यातायात व्यवस्था गर्ने जनाएको छ। प्रतियोगीले टिम समूह, च्यालेन्ज इन्डिभिजुयल समूह, विद्यार्थी दौड र ह्याप्पी रनमध्ये जुनसुकैमा पनि भाग लिन सक्नेछन्। टिम समूहमा ३० मिश्रित टिम रहनेछन्। यसमा कम्तीमा एक विपरीत लिंगको सदस्य समेटिएको हुनुपर्नेछ। ९० खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ। खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ चरण पूरा गर्नुपर्ने हुन्छ। दौडका क्रममा खेलाडीले २२५८ मिटर उचाइ पार गर्नेछन्। विदेशी नागरिकका लागि दर्ता शुल्क प्रति टिम २२ हजार ९२० रुपैयाँ (१२०० आरएमबी) रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ। च्यालेन्ज इन्डिभिजुयलमा करिब २ सय खेलाडी सहभागी हुने छन्। जसमा ८० चिनियाँ र १२० नेपाली रहनेछन्। ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन्। गेममा सहभागी हुने विदेशी खेलाडी खेलाडीका लागि प्रतिव्यक्ति९ हजार ९५० रुपैयाँ (१०० आरएमबी) दर्ता शुल्क लाग्नेछ।
विद्यार्थी दौडमा ५ सयको सहभागिता रहने जनाइएको छ। उनीहरूले बाराहीचोकदेखि ड्यामसाइटसम्म २ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ। ह्याप्पी रनमा ४ सय ८० नेपाली र २० चिनियाँ गरी ५ सय खेलाडी सहभागी हुने अपेक्षा छ। यसको २ किमि दुरी छ।
टिम समूहको विजेताले ४ लाख ५८ हजार ४ सय रुपैयाँ अर्थात् २४ हजार आरएमबी पुरस्कार पाउनेछ। दोस्रो टिमले ३ लाख ४३ हजार ८ सय र तेस्रो हुने टिमले २ लाख २९ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन्। चौथोले १ लाख ५२ हजार ८ सय र पाँचौंले ९५ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको छ।
च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले पुरस्कार जित्नेछन्। विजेताले १ लाख ५२ हजार ८ सय, दोस्रोले १ लाख १४ हजार ६ सय र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन्। चौथोदेखि सातौ हुने खेलाडीले ३८ हजार २ सय र आठौदेखि दसौ स्थान प्राप्त गर्नेले १९ हजार १ सय रुपैयाँ पुरस्कार छ।
विद्यार्थी दौडमा शीर्ष ६ (छात्र/छात्रा दुवै) खेलाडीका लागि नगद रहेको छ। विजेताले ३० हजार, उपविजेताले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन्। चौथोदेखि छैटौं हुने खेलाडीले १०–१० हजार पाउनेछन्। प्रतियोगिता लेकसाइडको बाराहीघाटबाट सुरु हुनेछ। छोरेपाटन हुँदै फुस्रेखोला, राम्दी, मट्टीखान, स्याङ्जाको फेदीखोला, रामकोट कविन्डे हुदै पुम्दीभुम्दी, विश्व स्तुपा, फेवाताल, खपौदी हुँदै पुनः बाराहीघाटमा नै आउनेछन्। फेवातालमा बोटिङ अनि राम्दी र मट्टीखानमा साइकल प्रयोग गर्नेछन्। चिनियाँ राजदूतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने प्रतियोगितामा १ करोड ३६ लाख रुपैयाँ खर्च अनुमान गरिएको संस्थाका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement