दोस्रो दिन पनि खरसाङको लङ्भ्यु चियाबारीमा श्रमिकहरू अनशनमा

IMG-20241009-WA0207

खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनस अहिलेलाई १६ प्रतिशतले दिनु पर्ने भनिए पनि खरसाङको लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई भने कम्पनीले केवल १० प्रतिशतले मात्र दिने भनिएको अनि त्यो पनि दशैं अघि ५ प्रतिशत र तिहार अघि 5 प्रतिशतले बोनस दिने भनिएपछि श्रमिकहरू अनशनमा बसेका छन्। लङ्भ्यु चियाबारीको श्रमिकहरू हिजो मंगलबारदेखि अनशनमा बसेका छन् भने उक्त अनशन आज पनि जारी रहेको छ। शुरूमा चिया श्रमिकहरूको बोनस बीस प्रतिशतको दरले दिनुपर्छ भन्ने माग गरिए तापनि पछिबाट राज्य सरकार अनि मालिकपक्ष माझको सम्झौता अनुरूप सोह्र प्रतिशत बोनस दिने निर्णय भएको छ। तर यसलाई पनि कतिपय चिया बगानका श्रमिकहरूले मानेका छैनन्। उनीहरू अझै पनि बीस प्रतिशतकै मागमा अडिग छन्। तर धेरैजसो चिया बगानमा श्रमिकहरुलाई सोह्र प्रतिशतको दरले बोनस दिइसकियो भने यता खरसाङ खण्डको लङ्भ्यू चियाबारीमा भने मालिकपक्षले श्रमिकहरुलाई सोह्र प्रतिशत होइन केवल दश प्रतिशत दिने निर्णय लिएको फलस्वरूप हाल त्यहाँका श्रमिकहरु रिले अनशनमा बसेका छन्। मंगलवारदेखि श्रमिकहरूले यहाँको चिया बगानको कार्यालय अघि अनशन शुरू गरेका छन्। यसबारे जानकारी गराउँदै स्थानीय श्रमिकहरूले तिनीहरूको माग बीस प्रतिशत रहे तापनि पछि गएर सोह्र प्रतिशतमा सम्झौता भएको तर यता लङ्भ्यूमा भने मालिकले केवल दश प्रतिशत मात्र दिने भएपछि तिनीहरू अनशनमा बसेको जनाए। जबसम्म तिनीहरूको माग पूरा हुँदैन तबसम्म तिनीहरूको माग जारी रहने पनि बताएका छन्। यता बगानका प्रबन्धक भने सोमवारदेखिनै कार्यालय बन्द गएर गएको स्थानीयवासीहरूले बताएका छन्। यस सन्दर्भमा बगानका प्रबन्धक एपी सिंहसँग टेलिफोनिक कुराकानी गर्दा तिनी श्रमिकहरूको पैसाको जोगाड गर्न नै गएको जनाउँदै हाललाई केवल दश प्रतिशतको दरले बोनस दिइने औ रहल ६ प्रतिशतको निम्ति आगामी दशैँपछि एउटा सभा बसेर निर्णय लिइने जनाए। तिनले श्रमिकहरुलाई अनशन फिर्ता लिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement