गान्तोक: देशका रक्षा मन्त्री राजनाथ सिंह आगामी ११ र १२ अक्टोबरका दिन सिक्किमको भ्रमणमा आउने भएका छन्। केन्द्रिय रक्षा मन्त्रीको भ्रमणलाई लिएर राज्यमा तयारी तीव्र गरिएको छ।
यस क्रममा आज गृह विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा एक उच्चस्तरीय तयारी बैठक आयोजन गरियो। टाशीलिङ सचिवालयको सम्मेलन हलमा आयोजित यस बैठकमा विभिन्न विभागका प्रमुखहरू र महत्वपूर्ण अधिकारीहरूको उपस्थिति थियो। केन्द्रिय रक्षा मन्त्रीको यात्रालाई सफल बनाउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको थियो।
अतिरिक्त मुख्य सचिव तेलाङले सुरक्षा प्रबन्ध, ट्राफिक व्यवस्थापन लगायत अन्य तयारीहरूको महत्वमाथि बल दिए। उनले दुई दिवसीय कार्यक्रमबारे जानकारी गराउॅंदै रक्षा मन्त्रीका प्रत्येक कार्यक्रममाथि गहनताका साथ छलफल गरे। उनले कार्यक्रम स्थल र रक्षा मन्त्रीको यात्रा मार्गमा सबै आवश्यक सुरक्षा प्रोटोकल सुनिश्चित गर्न निर्देश दिए।
अतिरिक्त मुख्य सचिव तेलाङले पुलिस विभागलाई वृहत ट्राफिक व्यवस्थापन योजना तयार गर्न निर्देश दिए। बैठकमा भ्रमणमा आउने गणमान्य व्यक्तहरू र अधिकारीहरूको आवास, यातायात, प्रोटोकल व्यवस्थापन विषय पनि छलफल गरियो। यस सम्बन्धमा सम्बन्धित विभागहरूलाई प्रोटोकल अनुरूप सबै तयारी गर्न निर्देश दिइयो। तेलाङले सञ्चार र कार्यान्वयनलाई लिएर कुनै पनि प्रकारको भूल बुझाबुझबाट जोगिनका लागि सरकार र रक्षा प्राधिकरणहरूबीच अन्तरविभागीय समन्वयमाथि बल दिएका छन्।










