नाम्ची: महिला तथा बाल विकास विभाग नाम्चीले बेटी बचाओ बेटी पढाओ अभियान अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको उपलक्ष्यमा आज रोङ सिनियर सेकेण्डरी स्कूल नाम्चीमा सचेतना कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा खानीगाउँ वार्ड पञ्चायत सिद्धिमान राई मुख्य अतिथि थिए। कार्यक्रममा राईले विद्यार्थीहरूलाई समग्र विकासका लागि खेलकुद, सांस्कृतिक कार्यक्रमहरू र शैक्षिक गतिविधिहरूमा सक्रिय सहभागी हुन प्रेरित गरे। उनले शिक्षाको परिवर्तनकारी शक्तिमा जोड दिँदै विद्यार्थीहरूलाई अनुशासनमा बसेर समाजका लागि काम गर्ने अनुरोध गरे। उनले लिङ् अनुपातमा देखिएको असन्तुलनप्रति चिन्ता व्यक्त गर्दै बालिकाको संरक्षण र सशक्तिकरणको महत्वबारे बताए। उनले भारत सरकारको यस अभियानले भेदभाव उन्मूलन, पोषण सुधार, स्वास्थ्य सेवा सुनिश्चित गर्न र महिलाहरुका लागि समान अवसर प्रदान गर्ने बताए। स्रोतवक्ता पेमा ओङ्मु भोटियाले बाल अधिकारका बारेमा विद्यार्थीहरूलाई जानकारी दिइन्। जसमा बालिका न्याय ऐन, पोक्सो ऐन, बाल श्रम, बालविवाह, र यौन उत्पीडन जस्ता प्रमुख विषयहरू समेटिएको थियो। उनले गुड टच र ब्याड टचबीचको भिन्नता पहिचान गर्ने महत्वलाई पनि जोड दिँदै विद्यार्थीहरूलाई व्यक्तिगत सुरक्षाको बारेमा महत्त्वपूर्ण ज्ञान प्रदान गरिन्। अर्का स्रोतवक्ता रोशनी थापाले मासिक धर्मबारे बुझ्न र उचित स्वच्छता कायम राख्नुको महत्त्वलाई जोड दिँदै महिनावारी स्वास्थ्य जागरूकतामाथि उल्लेख गरिन्।










