दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस च्याम्पियन बन्यो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको सहयोगमा आयोजित यस टुर्नामेण्टअन्तर्गत मंगलवार फाइनल म्याच खेलियो। लेबोङ स्थित गोर्खा स्टेडियममा भएको एकतर्फी फाइनलमा दार्जीलिङ पुलिसले हिमालश्री एथलेटिक क्लबविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट आशिष देवानले ४८औं, वांगचुक तामाङले ७०औं र सिद्धान्त छेत्रीले ७६औं मिनटमा गोल गरे। यस टुर्नामेण्टलाई आयोजन गर्नुको मुख्य उद्देश्य आउँदो प्रमुख टुर्नामेण्टहरूमा हिस्सा लिन जीटीए टीमको चयन गर्नु हो। जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा दार्जीलिङ, कालेबुङ र खरसाङको लीग विजेता अनि उपविजेता टीमहरूलाई सामेल गरिएको थियो। यसको साथमा मिरिकबाट पनि एउटा टीम रहेको थियो। यस टुर्नामेण्टमा प्रदर्शनको आधारमा जीटीए टीमको निम्ति खेलाड़ीहरूका चयन गरिनेछ। पछिबाट चयन गरिएका खेलाड़ीहरूका निम्ति रेसिडेन्सियल क्याम्पको पनि आयोजन गरिनेछ।









