नेपालको उत्तरी मुक्तिनाथ क्षेत्रमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन

IMG-20241008-WA0290

भद्रपुर: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ।
समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन्। वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।
मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०२४-२०२५ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताउछन्। रानीपौवाबाट मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो। सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए। उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ।
बिहान ६ देखि दिउँसो ३ बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०२१-२०२२ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आर्थिक वर्ष २०२२-२०२३ मा १२ जनाको मृत्यु भएको थियो।
प्रहरी इन्स्पेक्टर विशाल अधिकारीका अनुसार गत आर्थिक वर्ष २०२३-२०२४ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए। लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन्। चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताइन्।
लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ। लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ। लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन्छ। मुक्तिनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने विश्वासका साथ तीर्थयात्री दर्शन र पूजाआजाका लागि आउने पुजारी कृष्णप्रसाद सुवेदीले बताए। अनुकूल मौसम, सडक यातायतको सहजता, होटल तथा लजको सुविधा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत स्वदेश तथा विदेशका उच्च पदका व्यक्तित्वको भ्रमण आदिका कारण मुक्तिनाथमा तीर्थालुको आगमन बढेको छ।
आर्थिक वर्ष २०२३-२०२४ मा सडकमार्ग भएर चार लाख २७ हजार जना पर्यटक भित्रिएको मुस्ताङमा केही दिनअघि सकिएको सोह्रश्राद्धको समयमा २० हजार जना आएका जिल्ला प्रहरी कार्यालयको अभिलेख छ। मुस्ताङ भित्रने अधिकांश पाहुनाको गन्तव्य मुक्तिनाथ मन्दिर हो। सोह्रश्राद्धमा कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास छ।
मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्साका रूपमा लिन्छन्। मुक्तिनाथ परिसरको १०८ धाराको पानी मिसिने कालीगण्डकीमा पाइने शालिग्राम शिलाका कारण यसको धार्मिक महत्व छ। हिन्दू धर्मावलम्बीले शालिग्रामलाई विष्णु भगवान्को अवतारका रूपमा पुज्ने गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement