खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारीको टार गाउँमा अवस्थित प्रख्यात काली मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि नौ दिवसीय पूजा अर्चनाको कार्यक्रम भइरहेको छ। यस क्षेत्रको अत्यन्तै पुरानो अनि प्रख्यात मन्दिरहरूमध्ये एक यो काली मन्दिर पनि हो। शुरूमा सानो, टिनको छानोले बनिएको यस मन्दिरलाई नयाँ रूप दिन वर्तमान जीटीए मुख्य कार्यपाल अनित थापाले विशेष सहयोग प्रदान गरेकोमा मन्दिर सञ्चालन समिति धेरै खुशी छन् औ उनीप्रति आभार प्रकट गरेका छन्। यसबारे जानकारी दिँदै मन्दिर सञ्चालन समितिको पक्षबाट कल्याण छेत्रीले जीटीका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। अत्यन्त पुरानो अनि जीर्ण अवस्थामा रहेको यस मन्दिरलाई नयाँ रूप अनि ढाँचा दिन अनित थापाले पूर्ण रूपले सहयोग प्रदान गरेको हुँदा अहिले यहाँ भक्तजनलाई धेरै सुविधा भएको जनाएका छन्। छेत्रीले यस मन्दिरको ऐतिहासिक पृष्ठभूमि अनि हालको पूजा अनुष्ठानबारे पनि जानकारी दिएका छन्।










