क्याप १२ जात गोष्ठिको जनजाति मान्यताको विरोधमा रहेको स्पष्ट: एसकेएम

IMG-20240717-WA0003

गान्तोक: अनुसूचित जनजातिको मान्यता पाउनबाट छुटेका 12 जात गोष्ठिलाई संवैधानिक मान्यता दिलाउने दिशामा 6 अक्टोबर, २०२४ को दिन सिलगढ़ीमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा बसेको बैठकमाथि सिटिजन एक्सन पार्टी (क्याप) ले जनाएको आपत्ति देख्दा सीएपी १२ जात गोष्ठिको विरोधमा रहेको स्पष्ट प्रमाणित भएको एसकेएम प्रवक्ता सीपी शर्माले दाबी गरेका छन्।
छुटेका १२ जात गोष्ठिलाई संवैधानिक मान्यता दिलाउन मुख्यमन्त्री पीएस गोले नेतृत्वाधीन सरकार क्यापले तय गरेको सीमाभित्र बस्नुपर्छ भन्ने ठान्दैन भनी स्पष्ट गरेका छन्।
एसकेएम प्रवक्ता सीपी शर्माले आज जारी एक प्रेस विज्ञप्तिमा यस आसयका जानकारी गराएका छन्। उनले भने, ‘१२ जातिले आफ्नो संवैधानिक मान्यता प्राप्त गर्न पूर्व एसडीएफ सरकारकालमा पच्चीस वर्ष वञ्चित रह्यो भने एसडीएफसँगै बसेको सीएपीले आफ्नो असली रुप देखाएको छ।’ उनले वर्ष २०१९ मा सरकारमा आउनसाथ एसकेएम सरकार र मुख्यमन्त्रीले १२ जात गोष्ठिलाई जनजातिको मान्यता दिलाउने मुद्दालाई दिल्लीसम्म पुगेर बारम्बार उठाउँदै आइरहेको अवगत गराएका छन्।
उनले भने, ‘एसकेएम सरकारले जनजातिको यो माग पूरा गरेको खण्डमा आफ्नो राजनीति गर्ने मुद्दै सकिन्छ भन्ने निकृष्ट सोँच बोकेको क्याप सिक्किम र सिक्किमे अनि १२ जात गोष्ठि विरोधी हो भन्ने पक्का भएको छ।’ उनले संवैधानिक मान्यताको निम्ति संघर्ष गर्दा यदि सभा-बैठकहरू गर्नु आवश्यक परे सिलगढ़ी त के कोलकाता र दिल्लीसम्म पुगेर बैठक गर्नेछौँ भनी अडान स्पष्ट गरेका छन्। उनले क्यापमाथि स्वार्थी राजनीतिक खेल खेलेर समाजलाई भ्रमित पार्नु उनीहरूको राजनैतिक अपरिपक्वता हो भनेका छन्।
उनले स्मरण गराउॅंदै भने, ‘विगतमा पूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीले नेपाली भाषा मान्यताको मागलाई पूरा गराउने लड़ाईँ गर्दा प्रोटोकल हेरेनन्, उनले केवल भाषा मान्यताको मागलाई अघि राखेर काम गरेकै कारण नेपाली भाषाले संविधानमा स्थान प्राप्त गरेको हो। तर बिडम्बना पूर्व एसडीएफ सरकारका मुख्यमन्त्रीले प्रोटोकल हेर्ने भएर नै १२ जात गोष्ठि ठगिनुपरेको हो।’ उनले त्यही एसडीएफ पार्टीको संस्कार बोकेको सीएपी अहिले १२ जात गोष्ठिले आफ्नो संवैधानिक अधिकार पाउनु हुँदैन भन्ने निकृष्ट र स्वार्थी सोँच बोकेको स्पष्ट भएको बताएका छन्।
उनले एसकेएम पार्टी सरकारमा आएपछि जनजातिको मुद्दामा सिलगढ़ीमा बसेको पहिलो बैठक होइन भन्दै यसभन्दा अघि यस्ता धेरै महत्त्वपूर्ण बैठकहरू सिक्किम राज्यभित्रै आयोजन भइसकेको अवगत गराएका छन्। उनले अब यो मुद्दा राज्यको मात्र नभई राष्ट्रियस्तरको मुद्दा बनिसकेकोले सिलगढीमा बसिएको बैठकलाई गलत देख्नु सीएपीको नियत नै गलत छ भन्ने साबित हुनु हो भनेका छन्। उनले एसकेएम पार्टी सरकारमा आएपछि १२ जात गोष्ठिको मान्यता मुद्दालाई लिएर आयोजना गरिएका बैठकहरूको विस्तृत जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement