पाकिम: गत वर्ष ४ अक्टोबरको बिहान टिस्टा नदीमा आएको विनाशकारी बाढ़ीमा बगेर ज्यान गुमाउने वीर जवानहरूको सम्झनामा बर्दाङमा प्रेरणास्थलको निर्माण भइरहेको छ जसको आगामी सप्ताह भारत सरकारको रक्षा मन्त्री राजनाथ सिंहको बाहुलीबाट विधिवत उद्घाटन गरिनेछ। वीर सैनिकहरूको सम्झनामा निर्माण भइरहेको यस पूर्वाधारको निर्माणको पहल राज्यपाल ओम प्रकाश माथुरको सक्रियतामा भएको हो। उल्लेखनीय छ, ४ अक्टोबरको बाढ़ीमा बर्दाङको क्याम्पमा रहेका करिब २२ जना जवानलाई टिस्टाको उर्लिँदो भलले बगाएर लगेको थियो।
पूर्वाधारको निर्माणकार्य साथै रक्षा मन्त्रीको भ्रमणको तयारी सम्बन्धमा जायजा लिन आज मुख्यमन्त्री प्रेमसिंह तामाङ बर्दाङ पुगेका थिए। मुख्यमन्त्रीको साथमा सड़क एवं पुल मन्त्री एनबी दाहालको विशेष उपस्थिति रहेको थियो। भ्रमणअवधि मुख्यमन्त्रीले भारतीय सेनाका अधिकारीहरूसँग कुराकानी गर्दै प्रेरणास्थलको तयारीमा दिएको योगदानको प्रशंसा गरे।
मुख्यमन्त्री तामाङले राज्यवासी सर्वसाधरणलाई प्रेरणास्थल उद्घाटन समारोहमा सहभागी बनेर रक्षा मन्त्री राजनाथ सिंहको सिक्किम भ्रमणलाई स्मरणीय बनाउने पनि अपील गरेका छन्।










