गान्तोक: वर्ष १९९४ देखि २०१९ सम्म निरन्तर २५ वर्ष सरकारमा रहिसकेको सिक्किम डेमोक्रेटिक फ्रण्टबाट केही प्रभावशाली नेतालगायत जम्मा ४३ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा वर्ष २०१९ र २०२४ को विधानसभा चुनाउमा विभिन्न सम्ष्टीबाट पार्टीका उम्मेद्वार रहिसकेका जीएम गुरुङ, आशिष राई, डा. टीका नेपाल, पूर्व उपाध्यक्ष (समन्वय) किशोर खड्का, पश्चिम जिल्ला प्रभारी मोहन प्रधान, प्रवक्ता डा. शिव कुमार शर्मा आदि प्रमुख छन्।
आजको मितीमा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई सम्बोधन गरेर लेखिएको सामूहिक राजीनामा पत्रमा राजीनामा दिनुको प्रमुख कारण गत विधानसभा र लोकसभामा हार पछि पार्टीको निष्क्रियता बताइएको छ। उल्लेखनीय छ, २०१९ को चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाबाट हारको सामना गर्दै सत्ताच्यूत बनेको सिक्किम डेमोक्रेटिक फ्रण्टले यसै वर्ष भएको विधानसभा र लोकसभा चुनाउमा लगातार दोस्रो हारको सामना गरेको छ।










