नयाँ दिल्ली: भारतकी स्टार महिला जिम्नास्ट दीपा कर्मकारले सोमवार खेलबाट सन्न्यासको घोषणा गरेर सबैलाई चकित पारिन्। दीपाले २०१६-को रियो ओलम्पिकमा प्रभावशाली प्रदर्शन गरेकी थिइन् तर मामूली अन्तरले गर्दा काँस्य पदक जित्नदेखि चुकेकी थिइन्। ओलम्पिकमा हिस्सा लिने भारतकी पहिलो महिला जिम्नास्ट बन्ने त्रिपुराकी ३१ वर्षीय दीपाले रियो ओलम्पिकको भल्ट स्पर्धामा चौथो स्थान हासिल गरेकी थिइन् अनि केवल ०.१५ अंकले गर्दा ऐतिहासिक काँस्य पदक जित्नदेखि चुकेकी थिइन्। दीपाले सोशल मीडियामा जारी एउटा बयानमा भनेकी छन्, धेरै सोच-विचार अनि चिन्तनपछि मैले प्रतिस्पर्धी जिम्नास्टिकबाट सन्न्यास लिने फसेला गरेकी छु। यो सजिलो फसेला थिएन तर मेरो विचारमा यही सही समय हो। जिम्नास्टिक शुरुवातदेखि नै मेरो जीवनको केन्द्र रह्यो अनि म उतार चड़ाउ र बीचको प्रत्येक क्षणको निम्ति आभारी छु। आज पनि मलाई आफ्नो उपलब्धिहरू हेर्दा गर्व लाग्छ। विश्व स्तरमा भारतको प्रतिनिधित्व गर्नु अनि पदक जित्नु, सबैभन्दा विशेष रियो ओलम्पिकमा प्रोदुनोवा भल्टको प्रदर्शन मेरो करियरको सबैभन्दा यादगार क्षण रह्यो।
दीपाले भनिन्, आज मलाई त्यो दीपालाई देखेर खुशी लाग्छ कारण उनले सपना देख्ने हिम्मत राखिन्। मेरो अन्तिम जीत ताशकन्दमा एशियन जिम्नास्टिक च्याम्पियनशीपमा रह्यो, जुन एउटा टर्निंग पोइण्ट थियो कारण त्यस समय अझ केही समय खेल्न सक्ने लागेको थियो तर कहिले काहीँ शरीरले पनि हामीलाई आराम गर्ने समय आएको बताउँछ। सत्यलाई अस्वीकार गर्न सकिँदैन। म आफ्ना प्रशिक्षक विश्वेश्वर नन्दी र सोमा म्यामलाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई २५ साल मार्गदर्शन गरे अनि मेरो सबैभन्दा ठूलो ताकत बने। मलाई प्राप्त भएको समर्थनको निम्ति म त्रिपुरा सरकार, जिम्नास्टिक महासंघ, भारतीय खेल प्राधिकरण (साइ) र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। दीपालाई २०१७-मा खेलमा उनको योगदानको निम्ति भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले सम्मानित गरिएको थियो।









