२४ अगस्तः भारतकी दिग्गज महिला टेनिस खेलाड़ी सानिया मिर्जाले चोटले गर्दा यूएस ओपनबाट आफ्नो नाम फिर्ता लिइन्। सानियाले लामो समयदेखि युगल म्याचहरू मात्र खेलिरहेकी छन्। उनलाई यो चोट दुई हप्ता अघि कनाडामा लागेको थियो। सानियाले अगावै यो उनको पेशादार टेनिसको अन्तिम साल हुने घोषणा गरेकी छन्। यसपाली चोटले गर्दा यूएस ओपनबाट हट्नु पर्दा उनको फसेलामा असर पर्न सक्छ। यस ३५ वर्षीय खेलाड़ीले इन्स्टाग्राम पोस्टमा यस महिना टोरण्टोमा कनेडियन ओपन खेल्दा चोट लागेको कुरा बताएकी छन्। सानियाले इन्स्टाग्राममा लेखेकी छन्, नमस्कार साथीहरू, एउटा नयाँ खबर छ। मसँग शेयर गर्नको निम्ति असल सूचना चाहिँ छैन। दुई हप्ता अघि कनाडामा खेल्दा मेरो कुहिनामा चोट लागेको थियो। मैले त्यसलाई गम्भीरतापूर्वक लिएको थिइनँ। एक दिन अघि स्क्यान गर्दा चाहिँ चोट गम्भीर रहेको थाहा लाग्यो। यसैकारण म केही हप्ता खेलदेखि टाढ़ा रहनु पर्नेछ। यसैकारण म यूएस ओपनबाट हटिरहेकी छु।
सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनको आयोजन २९ अगस्तदेखि ११ सेप्टेम्बरसम्म हुनेछ। सानियाले यस सालको शुरुवातमै २०२२-को सत्रपछि खेलबाट बिदा लिने घोषणा गरेकी थिइन्। सानिया टोरण्टोमा मेडिसन कीजसँग खेल्दै महिला युगलको सेमिफाइनलमा पुगेकी थिइन्। उनले गत हप्ता सिनसिनाटी ओपनमा पनि हिस्सा लिएकी थिइन्। सानियाले अष्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपनमा महिला युगलको खिताब १-१ पल्ट जितेकी छन्। यसबाहेक अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र यूएस ओपनमा उनले मिश्रित युगल खिताब पनि १-१ पल्ट जितेकी छन्।









