खरसाङ: भारतीय नेपाली समाजका सुपरिचित नाटककार, साहित्यकार तथा राजनैतिक विश्लेषक पी अर्जुनको निधानमा खरसाङको नाट्य संस्था जागृति परिवारले गहिरो दु:ख प्रकट गरेका छन्l उनलाई श्रद्धाञ्जली अर्पण गर्न आज जागृति परिवारले आफ्नो निजी भवनमा शोक सभा आयोजना गर्योl जागृति परिवारका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको शोक सभामा उनको आत्मशान्तिको कामना गर्दै दुई मिनट मौन धारण गरियोl स्व० पी अर्जुनले भारतीय नेपाली समाजलाई नाटक, साहित्य, राजनैतिक क्षेत्रबाट लगाएको गुणबारे सभामा सबैले स्मरण गरेl भारतीय नेपाली समाजका सुपरिचित नाटककार तथा जागृति परिवारका संस्थापक पूर्ण गुरुङ ‘निरुपम’ले सन् १९७६ देखि नै जागृति परिवारसित घनिष्ट सम्बन्ध रहेको बताएl सन् १९७६ मा जागृति परिवारको तेस्रो नाटक ‘शीर्षकविहीन’देखि पी अर्जुनसित गहिरो सम्बन्ध रहेको उनले बताएl जागृति परिवारको सर्वाधिक लोकप्रिय बनेको नाटक ‘बन्धकी राखिएको सिन्दुर’ सन् १९७९ मा पी अर्जुनकै व्यस्थापनमा दार्जीलिङको गोदुनिस हलमा सफलतापूर्वक मन्चन भएको कुरालाई पूर्ण गुरुङ ‘निरुपम’ले स्मरण गरेl गत वर्ष जागृति परिवारले आफ्नो स्वर्ण वर्षको स्थापना दिवसको कार्यक्रममा पी अर्जुनलाई सम्बर्द्धना जनाएको थियोl उनको निधनले भारतीय नेपाली समाजको नाटक, साहित्य र राजनैतिक क्षेत्रमा ठूलो क्षति भएको पूर्ण गुरुङ ‘निरुपम’ले बताएl पी अर्जुन विभिन्न समाचारपत्रहरूमा एक जना स्तम्भकार रहेको, र उनले मुख्य रुपमा दार्जीलिङ पहाडको राजनैतिक गतिविधिबारे विश्लेषणात्मक लेखहरू लेखेका बारेमा जागृति परिवारका उपाध्यक्ष सञ्जय प्रधानले बताएl सभामा उनले गोर्खाल्याण्ड आन्दोलनमा बौद्धिक स्तरमा निर्वाह गरेको भूमिकालाई पनि उल्लेख गरियोl










