भद्रपुर: मोरङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ।
बेलबारी नगरपालिका-८ चिसाङ पुलनजिक ६ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको जोशीले बताए। संखुवासभाको सिलिचुङ गाउँपालिका-२ घर भएका राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। प्रहरी जवान राई मोटरसाइकल चालक हुन्।
प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिन्छ। यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी जोशीले बताए। दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन्।









