गान्तोक: पश्चिम बंगाल (दार्जिलिङ) र सिक्किमका जनजातिको मान्यता पाउनबाट छुटेका जातगोष्ठी समुदायहरूलाई जनजातिको दर्जा दिलाउने उद्देश्यले आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सिलगढीस्थित एक होटलमा ऐतिहासिक समन्वय बैठक सम्पन्न भयो।
उक्त बैठकमा सिक्किमका मुख्यमन्त्रीलगायत, मन्त्रीगण, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा, दार्जिलिङका लोकसभा सांसद राजु बिष्ट, दार्जिलिङका विधायक निरज जिम्बा र कालचिनीका विधायक बिशाल लामा आदि उपस्थित थिए। यसैगरी, कार्यक्रममा दार्जिलिङका ११ जातगोष्ठी समुदाय र सिक्किमका १२ जातगोष्ठी समुदायका इप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।बैठकमा यी समुदायहरूले लामो समयदेखि झेलिरहेका चुनौतीहरू र अधिकारहरूलाई सुनिश्चित गर्ने उपायहरूमाथि गहन छलफल भयो। यस बैठकले सिक्किम र दार्जिलिङ दुवैका जातगोष्ठी समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न ठोस कदम चाल्न निर्णय लिएको छ। यस क्रममा समावेश अनुसूचित जनजाति मागको निम्ति संयुक्त कार्य समिति गठन गरिएको छ। उक्त समितिको माध्यमद्वारा जनजातिको मान्यता माग मुद्दालाई संयुक्त रूपमा अगाडि बढाइने बताइएको छ।