दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले फाइनलमा स्थान बनायो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको सहयोगमा आयोजित यस टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। लेबोङ स्थित गोर्खा स्टेडियममा भएको म्याचमा दार्जीलिङ पुलिसले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल मनीष सुब्बाले ७९औं मिनटमा गरे। अब मंगलवार खेलिने फाइनलमा दार्जीलिङ पुलिस र हिमालश्री एथलेटिक क्लबबीच भिड़न्त हुनेछ।