तीनधारेमा प्रौढ दिवस साथै प्राध्यापक डा. अमीर दर्जीलाई सम्मान कार्यक्रम सम्पन्न

IMG-20241006-WA0228

खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनको आयोजनामा तीनधारेमा प्रौढ दिवस साथै सम्मान कार्यक्रम आयोजना गरिएको छ। उक्त सम्मान कार्यक्रममा तीनधारेका सुपुत्र प्राध्यापक डा. अमीर दर्जीलाई सम्मान जनाइएको छ। तीनधारेको होटल गैरीस्थित संगठनको कार्यालयमा सम्पन्न कार्यक्रमको अध्यक्षता वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सभापति गाँधी मोक्तानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्राध्यापक डा अमिर दर्जी उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा स्व हरिप्रसाद छेत्रीकी पत्नी धनकुमारी छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान उपस्थित रहेका थिए। संगठनको दिवंगत भएका सदस्यहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै आत्मा शान्तिको लागि मौन धारण गरेर थालिएको कार्यक्रममा वरिष्ठ नागरिक कल्याण संगठनको नयाँ सदस्यहरूलाई स्वागतसहित परिचय गराइएको थियो। वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको संयुक्त सचिव सुरेशचन्द्र दर्नालले सञ्चालन गरेको कार्यक्रममा प्रौढ दिवस विषयमा बीबी गुरुङ र संगठनको सचिव पूर्ण मास्केद्वारा वक्तव्य राखिएको थियो। त्यसरी नै वरिष्ठ नागरिकहरूको अधिकार र कर्त्तव्य विषयमा श्रीगणेश सहकारी समिति तीनधारेको सभापति बिनयकुमार छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथि घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान र किशोर लोहारले पनि वक्तव्य राखेका थिए। यसै कार्यक्रममा तीनधारेको सुपुत्र साथै हालैमा तीनधारेको इतिहास र तीनधारे क्षेत्रबाट विभिन्न क्षेत्रहरूमा योगदान दिने व्यक्तिहरूलाई लिएर लेखिएको दुईवटा अनुसन्धानमूलक पुस्तकहरू क्रमैले ‘तीनधारेमा नेपाली नाटक’ अनि ‘विविध वृत्तहरूमा तीनधारे’ का लेखक प्राध्यापक डा. अमीर दर्जीलाई वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको पक्षबाट सम्मान जनाइएको छ। यस अवसरमा डा. अमीर दर्जीलाई खदार्पणसहित, नेपाली टोपी पहिराएर साथै शल ओढ़ाएर अनि सम्मान पत्रद्वारा सम्मान जनाइएको छ। कार्यक्रममा सम्मान पत्र मदनकुमार प्रधानले पठन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्राध्यापक डा. अमीर दर्जीले आफ्नो सम्बोधनमा तीनधारे क्षेत्रमा वरिष्ठ नागरिक कल्याण संगठनले गरिरहेको सिर्जनात्मक कार्यहरूका प्रशंसा गर्दै साट्ठी प्लस भएर पनि गाउँ घरको विकासको लागि युवा जोश लिएर सिर्जनात्मक कार्यहरू गरिरहेको बताएका छन्। उनले वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको लागि एक अभिभावक संगठन रहेको र यो संगठन सबैको शिर संगठन हो भनी बताएका छन्। डा. दर्जीले आफुलाई आफ्नै ठाउँमा यसरी सम्मान जनाएकोमा आभार प्रकट गरेका छन्। डा. अमीर दर्जीले आफ्नो सम्बोधनमा भने, ‘मैले पुस्तक लेखेको मुख्य उद्देश्य नै सबैले अध्ययन गरोस् भनेर हो। मेरो पुस्तकमाथि अन्तरक्रियात्मक कार्यक्रम होस् भनेको सोचेको थिए र आज तेस्तै भयो र गुरुबा जेबी गुरुङले पुस्तकमाथि धेरै सुझावहरू राखि दिनु भएको छ र म आभारी छु।”
उनले अघि भने, ‘तीनधारेमा नेपाली नाटक मैले २००७ देखि नै शुरु गरेको थिए तर भनेको जस्तो तथ्यहरू र चाहिएको कुरा नपाएर मै हो सानो भएको हो। अफ्नो पीएचडीको समय तीनधारेको योगदान र इतिहास नपाउँदा लेख्नु शुरु गरेको थिएँ। विशेष सबैले ठूलो ठूलो ठाउँहरू विषयमा मात्र लेख्ने गरेको देखिएको छ। तर साना साना गाउँ घर विषयमा पनि लेखिनु आवश्यक छ भनेर आफ्नै जन्मथलो तीनधारेमाथि लेख्न शुरु गरेको र एउटा विषयमा लेख्दै जाँदा विभिन्न विषयहरू तानिन्दै गएको छ। तीनधारेमाथि पुस्तक लेख्दै आदिको भुप्रोमा हात हालेको जस्तो लाग्यो। यी पुस्तकहरू लेख्नु पीएचडी गर्नुभन्दा गाह्रो भएको थियो।’
डा. दर्जीले अझ भने, ‘सो मेरो पुस्तक अन्तिम होइन। यसमा अवश्य धेरै भूलहरू भएको छ तर तीनधारेमाथि पुस्तक लेखिएको छ अनि यो शुरुवात् भएको छ र यसमाथि अर्को परिमार्जित संसोधित संस्करण आगामी ३-४ वर्षमा तथ्यहरू संकलन गरेर लेख्नुछु।”
कार्यक्रममा डा. अमीर दर्जी र उनको नयाँ कृतिमाथि वरिष्ठ नागरिक कल्याण संगठनको संरक्षक एंव पूर्व शिक्षक जेबी गुरूङले वक्तव्य राख्दै वरिष्ठ नागरिक कल्याण संगठन असक्ततामा पनि एकता छ र वरिष्ठ नागरिकहरू अनुभवी र परिमार्जित हुन्छन् भनी बताएका छन्। उनले हामी सबैजना सिर्जनात्मक कार्यमा सदैव सक्रिय हुनुपर्छ भन्दै वरिष्ठ नागरिकहरू युवाहरू जस्तै जोश र जाँगरको साथमा कार्य गर्दै जानुपर्छ भनी बताएका छन्। जेबी गुरूङले वरिष्ठ नागरिकहरू शारीरिक सुरक्षाको साथमा समाज निर्माण र समाजको उन्नतिमा लागि पर्नु पर्ने बताएका छन्। उनले आफ्नो सम्बोधनमा सम्मानित व्यक्ति डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू विषयमा वक्तव्य राख्दै भने, ‘डा. अमीरले तीनधारेलाई ठूलो गुण लगाएका छन्। तीनधारेलाई ऋण लगाएका छन्। त्यही गुण र ऋणलाई हेरेर आजको सम्मान कार्यक्रम आयोजना गरिएको हो।’
डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरूमा रहेको कतिपय जानकारीहरू र तथ्यहरू विषयमा पनि गुरुङले बताएका छन्। उनले यसमा डा अमीर दर्जीले धेरै मेहनत गरेका छन् तर तथ्यहरू र जानकारी दिनेले केही भूल जानकारी दिएको हुनसक्छ भनी संसोधित तथ्यहरू राखेका थिए। कार्यक्रममा सभाध्यक्ष गाँधी मोक्तानले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको पदाधिकारीहरू र सदस्य सदस्याहरू साथै तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त प्रौढ दिवस र सम्मान कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको संयुक्त सचिव सुरेशचन्द्र दर्नालले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement