इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विगत चार दिनमा २५० हिजबुल्लाह लडाकुलाई मारेको दाबी गरेको छ। साथै यस कारबाहीमा थप दुई जना आइडीएफ सैनिकको पनि मृत्यु भएको छ। मारिनेमा २१ जना हिजबुल्लाह कमाण्डर रहेको आइडीएफले जनाएको छ। यससँगै आइडीएफले २ हजार सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनाले आफ्नो कारबाही दक्षिणी लेबनानमा केन्द्रित रहेको बताएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार हिज्बुल्लाहका सम्भावित शीर्ष नेता हाशिम सफीद्दीन पनि रातभर लेबनानमा इजरायली हवाई हमलामा मारिएका छन्। यद्यपि, यो अहिलेसम्म पुष्टि भएको छैन र सफीद्दीनको अवस्थाको बारेमा कुनै जानकारी उपलब्ध छैन। आइडीएफले शुक्रबार फ्रन्टलाइनमा आफ्ना दुई सैनिक मारिएको र दुई जना घाइते भएको बताएको छ। यस अघि इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो।