भद्रपुर: मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आज दिउँसो १ जना सशस्त्र प्रहरीको मृत्युु भएको छ।
कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-४ गोकुवा चोकमा प्रदेश १-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १-०२-००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो।
प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।
उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले दिउँसो २ः४५ बजेतिर मृत घोषित गरेको जानकारी जोशीले दिए। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन्। धनकुटाको साँगरीगढी गाउँपालिका-९ घर भएका उनको विराटमै उपचार भएको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रहरीले जनाएको छ।