सिलगढी: आरजी कर अस्पतालमा एक जूनियर महिला डाक्टरको दुष्कर्म र हत्याको विरोधमा जुनियर डाक्टरहरूले शनिबार साँझ कोलकातामा आमरण अनशन शुरु गरेका छन्। यसको असर अहिले राज्यका अन्य अस्पतालमा पनि पर्न थालेको छ। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका जुनियर डाक्टरहरू पनि आज एक दिनको लागि प्रतीकात्मक विरोधमा बसेका छन्। जुनियर डाक्टरहरुले भोलिदेखि काम सुरु गर्दै अनशन बस्ने निर्णय गरेका छन्। आरजी कर अस्पतालका एक जुनियर डाक्टरले पश्चिम बंगाल सरकारले आफ्नो माग पूरा नगरेको दाबी गरेका छन्। राज्य सरकारले समयसीमाभित्र आफ्ना माग पूरा गर्न नसकेपछि आमरण अनसनमा बसेको चिकित्सकहरुले बताएका छन्। अनशनमा कुनै चिकित्सकको स्वास्थ्य बिग्रिए त्यसको जिम्मेवारी राज्य सरकारको हुने जुनियर डाक्टरले बताए। उनले भने, ‘हामीलाई जनताको समर्थन छ, त्यसैले प्रशासनबाट कुनै पनि प्रकारको अवरोध आउनुको डर छैन। हाम्रा माग पूरा नभएसम्म हामी अनसन जारी राख्छौं।‘