गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले हिजो पैह्रौ प्रभावित क्षेत्रको निरीक्षण गरे। विशेष गरेर नयाँ बजारको पुलिस पोस्ट र राममाम चेकपोस्टमा पैह्रोले क्षति पुऱ्याएको जानकारी पाएपछि उनले भ्रमण गरेका हुन्। भ्रमणको क्रममा सोरेङ जिल्लाका पुलिस अधिक्षक जे. जयापान्डिया, खण्ड विकास अधिकारी, एसएचओ तारा शर्मा लगायत सम्वन्धित निकायका अन्य अधिकारीवर्ग पनि सामेल रहेका थिए।भ्रमण पछि जिल्लापाल ठटालले नयाँ बजारदेखि लेग्शेपसम्म जाने सडकको अवस्थालाई लिएर एक सभा आयोजना गरे। विशेष गरे यस सडकको बैकल्पिक व्यवस्थाबारे उनले सभामा चर्चा गरे। उक्त सडक बन्द हुँदा चालक साथै आम मानिसहरूले धेरै समस्या भोग्नु परिरहेको कुरा जिल्लापालले सभामा उल्लेख गरे। सोही क्रममा उनले रेङयाङ पुलको मरम्त कार्य सडक वम पुल विभागले गर्नु पर्ने बताए। उनले आम मानिसहरूको सुरक्षालाई ध्यानमा राख्दै राममाम पुलमा तार लगाउनु पर्ने निर्देश दिए। यसरी नै नयाँ बजारदेखि जुमसम्म पुग्ने सडक निर्माण कार्यलाई लिएर पनि छलफल गरे। जिल्लापाल ठटालले पुलिस अधिक्षकलाई सो पुल भएर आवात जावत गर्ने वाहनहरूको गतिलाई पनि ध्यानमा राख्दै स्पीड ब्रेकर लगाउनु पर्न थप निर्देश दिएका छन्। उनले राममाम चेकपोस्टको भ्रमण गरी पर्यटकको सुविधाका लागि निर्माण भइरहेको पर्यटन विभागको शौचालयको मर्मत कार्यको पनि निरीक्षण गरे।









