गेजिङ: मानेबुङ देन्ताम क्षेत्र अन्तर्गत साङ्खु रदुखाण्डु ग्राम पन्चायत एकाइको भालूखोप खाण्डु डाँडागाउँमा लाली गुराँस सांस्कृतिक संरक्षण समाजको पहलमा गत तीन अक्टोबरबाट शुरु भएको तीन दिनव्यापी सांस्कृतिक संरक्षण कार्यक्रमको आज विभिन्न कार्यक्रमबीच समापन भएको छ। लोकसंस्कृति कार्यक्रमहरुमा बालन, संगिनी, खांडो जगाउने,पूजापाठ, नृत्य प्रतियोगिता साथै अनेकौँ लोप हुँदै गरेको संस्कृतिहरुको प्रतियोगिता समावेश गरिएको थियो। समापन कार्यक्रममा समष्टिका विधायक एवं पर्यटन अनि नागरिक उड़डयन विभागका सल्लाहकार सुदेश कुमार सुब्बा मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रममा जिल्ला पन्चायत उपाध्यक्ष अनिता राई, देन्ताम महकुमा अधिकारी एन के कार्कीको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा रोचक लोक संस्कृति प्रस्तुत गरियो। विशेष गरि यस भेगमा समाजको पहलमा गाउँलाई एक प्रमुख पर्यटन गन्तव्य बनाउने उदेश्यले पर्यटकहरुलाई विभिन्न संस्कृतिहरूबारे सिक्न, विदेशी भाषाहरू सुन्ने, विदेशी स्वादहरू चाख्ने, अन्य मानिसहरूसँगको सम्बन्ध र सहिष्णुता निर्माण गर्न टेवा पुग्ने उदेश्य रहेको बताइएको छ। आजको समापन समारोहमा कार्यक्रममा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको थियो भने दार्जीलिङका वरिष्ठ संगीतकार चन्दन लमजेल कार्यक्रमका निर्णायक थिए। कार्यक्रमका प्रतियोगीहरुलाई नगद पुरस्कार अनि स्मृतिचिन्ह प्रदान गरिएको थियो।









