दार्जीलिङ: छैटौं चरणको बोनस वार्ता अब कोलकातामा हुने भनिएपछि आन्दोलनरत पहाडका ५५ हजार अधिक चिया श्रमिकहरुले यसचोटि १६ प्रतिशत दरमा चाडबाड मनाउनुपर्ने सम्भावनाको स्थिति देखा परेको छ। यस्तो अडकलबाजीहरुसँगै सोमवार सिलगढी अतिरिक्त श्रमायुक्त कार्यालय घेराउ गर्ने समन्वय मञ्चको कार्यसूची पनि तलमाथि हुन सक्ने देखिएको छ।
तथापि ८ वटा राजनीतिक दलका गोलबद्ध श्रमिक सङ्गठनहरुको समन्वय मञ्च यसबारे भोलि दार्जीलिङमा बैठक बस्ने थाहा लागेको छ। राज्यका श्रम विभागद्वारा आज जारी पत्राचारअनुसार २० प्रतिशत बोनसको मागबारे आउँदो ६ नोभेम्बर बुधवार कोलकाता श्रम मन्त्रालयमा अपरान्ह्र २ बजे बैठक हुनेछ। यता सिलगढीमा सम्पन्न पछिल्लो छैटौं चरणको बोनस वार्ता अब कोलकातामा हुने बैठक अवधि १६ प्रतिशत दरको एडभाइजरीलाई केन्द्र गरी पहाडका विभिन्न चियाबारीमा गतिरोध खडा भइरहेको छ। एडभाइजरीमाथि हस्तक्षेप गर्नपर्ने मागमा समन्वय मञ्चलाई बिहीवार प्राप्त जवाब पुष्ट नभएको आपत्ति जनाउँदै हिजो पुन: पत्राचार गरिएको थियो।
अहिले कोलकाता वार्ताको मञ्चलाई प्रेषित गरिएपछि दशैं अघि श्रमिकहरुको ध्यान भोलिको बैठकमाथि केन्द्रित बनेको छ भने आउँदो १० अक्टोबर पालन गरिने फूलपातीपछि चियाबारीहरुमा पूजा छुट्टी शुरु हुनेछ।