लखनऊ: मुम्बईले पहिलो ईनिंग्समा बढ़तको आधारमा शेष भारतलाई पराजित गरी १५औं पल्ट ईरानी ट्रफी क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। भारतीय घरेलु क्रिकेटको प्रतिष्ठित ईरानी ट्रफी टुर्नामेण्टमा मुम्बई र शेष भारतबीचको म्याच ड्र रह्यो। म्याचमा मुम्बईले आफ्नो पहिलो ईनिंग्समा ५३७ रन बनाएको थियो। त्यसपछि शेष भारतको पहिलो ईनिंग्स ४१६ रनमा समाप्त भएको थियो। यसरी अजिंक्य रहाणेको कप्तानीमा रहने मुम्बईलाई पहिलो ईनिंग्सको आधारमा १२१ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि मुम्बईले शनिवार म्याचको पाँचौं तथा अन्तिम दिन ८ विकेटमा ३२९ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा दुवै टीमका कप्तान म्याच ड्र गर्न राजी भए। मुम्बईको दोस्रो ईनिंग्समा युवा अलराउण्डर तनुष कोटियानले अविजित ११४ रन बनाए, जुन प्रथम श्रेणीको क्रिकेटमा उनको दोस्रो शतक हो। उनले १५० बल खेलेर १० वटा चौका र एउटा छक्का लगाए। मुम्बईले एक समय आफ्नो दोस्रो ईनिंग्समा १७१ रनमै ८ विकेट गुमाएको थियो तर कोटियानले मोहित अवस्तीसँग नवौं विकेटको निम्ति १५८ रनको अटूट पार्टनरशीप गरेर टीमलाई बचाए। मोहितले ९३ बल खेलेर अविजित ५१ रन बनाए। उनलले ४ वटा चौका र एउटा छक्का लगाए। शेष भारतका बलरहरूमा सारांश जैनले सर्वाधिक ६ विकेट लिए। मुम्बईको पहिलो ईनिंग्समा अविजित २२२ रन बनाउने सरफराज खानलाई प्लेयर अव् द म्याच चयन गरियो।