तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन १० सेल अश्रुग्याँस प्रहार

IMG-20241005-WA0085

भद्रपुर: मोरंग जिल्लाको विराटनगर महानगरपालिका-१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावग्रस्त भएको छ।
दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको विषयलाई लिएर तनाव भएको हो। आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर शुक्रबार बिहान ढुंगामुढा गरेको छ। भन्सार कार्यालय तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। १० सेल अश्रुग्याँस प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए।
विराटनगर-१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट गुरुबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो। ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो।
विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो।
गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठायो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन्। दुर्घटनापछि गुरुबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो। आक्रोसित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहारसमेत गरेको प्रहरीले जनाएको छ।
स्थानीयले भने सुरुमा अस्पतालका सुरक्षा गार्डले कुटपिट गरेको बताएका छन्। अहिले पनि मृतकको शव अस्पतालमै छ। परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन्। आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, सडकमा रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए।
त्यस क्रममा आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए। उनका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ। कार्यालय भवनको शिशाहरु फुटेका छन्। भिडलाई रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ ( प्रहरी सहायक निरीक्षक)सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिए।

भिड थप आक्रोसित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाट्ठी प्रहारसमेत गर्नु परेको उनको भनाइ छ। तर, आन्दोलनकारीतर्फ कोही पनि घाइते भएको जानकारी छैन।उनका अनुसार अश्रुग्यास प्रहारपछि भिड तितरवितर भएको छ। अहिले भन्सार परिसरको अवस्था सामान्य रहेको र वार्ता एवं छलफलका माध्यमबाट समस्या समाधानको प्रयास भइरहेको डीएसपी जोशी बताउँछन्। विराटनगर-१८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले पीडितले न्यायको माग गरेको बताए। सडक व्यवस्थित बनाउन माग गर्दै स्थानीयले सुरु गरेको आन्दोलनमा घुसपैठ भएको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement