गान्तोक: गत वर्ष आजकै दिन टिस्टा नदीमा आएको प्रलयकारी भलबाढीको वर्षगाँठको अवसरमा आज राजधानीमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र भूराजस्व एवं आपदा विभागको सहकार्यमा आपदा जोखिम न्यूनीकरण दिवस पालन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उल्लखनीय छ, गत वर्ष आजकै दिन टिस्टा नदीमा आएको भलबाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनटको मौन धारणबाट आरम्भ भएको कार्यक्रममा उक्त आपदाको समय खट्ने संगठन अनि व्यक्ति विशेषहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट सम्मान जनाइयो। यसरी नै कार्यक्रममा भर्खरै सम्पन्न भएरो हिमतालहरूको भ्रमणबारे पनि आजको कार्यक्रममा व्यापक चर्चा भयो भने उक्त अध्ययन भ्रमणमा गएका सबैलाई मुख्यमन्त्री तामाङले सम्मान जनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै पोहोर सालको आपदामा ज्यान गुमाउनेहरूप्रति मुख्यमन्त्री तामाङले श्रद्धाञ्जली अर्पण गरे। यसका साथै उक्त भवितव्यको समय खटिने एनडीआरएफ, एसडीआरएफ, सेनाका जवानहरू साथै प्रत्येक व्यक्ति विशेषलाई धन्यवाद दिए। राज्यलाई आइपरेको समय प्रधानमन्त्री, गृहमन्त्री लगायत देशका विशिष्ट नेतृत्वहरूले निरन्तर रुपमा आफूसँग सम्पर्क गरेर हौसला प्रदान गरेकोमा उनले सबैप्रति आभार व्यक्त गरे।
उक्त भवितव्यले राज्यमा धेरै क्षति गरे पनि धेरै शिक्षा पनि दिएर गएको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। यसै सन्दर्भमा बोल्दै उनले अदेखि सरकार या निजी कुनै पनि काम गर्दा पुख्ता योजना बनाएर मात्र गर्नुपर्ने कुरामा उनले जोर दिए। यसका साथै आज मुख्यमन्त्रीले राज्य सरकारको वन विभागअधिनस्थ रहेर विभिन्न प्रतिकूल परिस्थितिहरूमा पनि रुख काट्ने जोखिमपूर्ण काम गर्दै आएका लम्बरज्याकहरूको जीवन वीमा गरिदिने घोषणा पनि गरेका छन्।
आजको कार्यक्रममा सिक्किम विधानसभाका उपाध्यक्ष राजकुमारी थापा, मन्त्री सोनाम लामा, मन्त्री अरुण उप्रेती, मन्त्री लामडुप भोटिया, मन्त्री पिञ्चो नाम्ग्याल लेप्चा, मन्त्री टीटी भोटिया, मन्त्री राजु बस्नेत, विधायक सोनाम भेञ्जोङपा, विधायक सामडुप भोटिया, पूर्व मन्त्री केएन लेप्चा, एनडीएमए सल्लाहकार एसए रिज्वी, एसडीएमए उपाध्यक्ष भीके शर्मा लगायत अन्यको उपस्थिति रहेको थियो।