विद्यार्थीहरूमा दशैंको खुशी छर्दै रोटरी दार्जीलिङ

WhatsApp-Image-2024-10-04-at-17.21.51.jpeg

दार्जीलिङ: मानव मूल्यलाई प्रमुखता दिँदै आएको रोटरी क्लबले बडा दशैंको अघि विद्यार्थी बालबालिकाहरूमा खुशीका नयाँ उर्जा सञ्चार गराएको छl दशैंको आगमनमा रोटरी क्लब अफ् दार्जीलिङले शुक्रबार (४ सेप्टेम्बर) दार्जीलिङका ३९ विद्यालयका विद्यार्थीहरूसँग हर्षोल्लासका साथ चाड मनायो। क्लबको प्रमुख परियोजनाको रुपमा स्प्रेड द ह्याप्पिनेस अफ दशैं, क्लबले विगत २० वर्षदेखि आयोजना गर्दै आइरहेको छ।

विद्यार्थीहरूमा मानव मूल्यको भावना सृजना गराउने एउटा प्रतीकको रुपमा यो कार्यक्रम रहेको छl रोटरी क्लब अफ् दार्जीलिङका अध्यक्ष समीर सिंघलले भने, ‘यस वर्ष क्लबले दार्जीलिङको साई स्कूल र रेडक्रस विद्यालयका बालबालिकासँग दशैंको खुशीयाली मनाउने निर्णय गरेको छ।‘ यस अवसरमा होटल लिटिल तिब्बतमा विद्यार्थीहरूलाई चलचित्र पनि देखाइयो। कार्यक्रममा उपस्थित सबै विद्यार्थीहरूका अभिभावकहरूलाई रिंक मलमा बोलाएर प्रत्येक विद्यार्थीलाई १२ सय रुपियाँको सपिङ कुपन दिइएको थियो। ‘बालबालिकाहरूले दशैंको लुगा किन्न सकून् भनेर हामीले कुपन उपलब्ध गरायौं’, सिंघलले भने।

रोटरी क्लब अफ दार्जीलिङले शहरलाई सुन्दर बनाउने एउटा सानो प्रयासको रूपमा शहरको रोटरी टावरमा भर्टिकल गार्डन पनि स्थापना गरेको छ। टावरमा वर्षैभरि रक्तचाप र रक्त शर्करा जाँच गर्न निःशुल्क क्लिनिक संचालन गरिन्छ। क्लबका ४४ जना सदस्यको योगदानबाट क्लिनिक संचालित भइरहेको छ। विगतमा, क्लबले मल रोडमा ओपन एयर जिम स्थापना गरी विद्यालयको मरम्मतसम्भार, रेन हार्वेस्टिङ प्रणाली स्थापना, वृक्षारोपण अभियान र विद्यालयका बालबालिकाका लागि नेतृत्व तालिम सत्र जस्ता विभिन्न परियोजनाहरू संचालन गरेको छ। ‘हामीले दार्जीलिङका लागि यस्तै सामाजिक परियोजनाहरू तयार गरेका छौं जुन आगामी महिनाहरूमा अनावरण गरिनेछ’, सिंघलले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement