कालचिनी: आउँदो २५ अगस्तको दिन शहीद मेजर दुर्गा मल्लको बलिदान दिवसको भव्य तयारी चलिरहेकोबीच आज ठीक दुई दिन अघि नै कालचिनी चौपति मोमबत्ती चौक संलग्न वीर बिरसा मुण्डाको सालिकको समकक्षमा आज़ाद हिन्द फौजको शहीद मेजर दुर्गा मल्लको प्रायः १३ फूट अग्लो सालिकको अनावरण समारोह भव्यरुपमा सम्पन्न भएको छ। यस अवसरमा डुवर्सको पुर्वमा अवस्थित सुनकोशदेखि लिएर पश्चिममा टिस्टा नदी नजीकै बाग्राकोटसम्मका जातिप्रेमी, भाषाप्रेमी, साहित्यप्रेमी औ अन्यान्य सम्प्रदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित मुख्य अतिथि बक्सा डुवर्स टी कम्पनी लिमिटेडका निर्देशक दयाल अग्रवाल र विशिष्ट अतिथि प्रमोद अग्रवाल, बीरपाड़ा हाम्रो समाजको अध्यक्ष कृष्णबहदुर श्रेष्ठ एवम् अन्यान्यको करकमलबाट शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण गरिएको थियो।
शहीदको शालिग अनावरण अघि १०८ दीप प्रज्वलन गर्दै समकक्षमा रहेको बीर बिरसा मुण्डाको शालिगमा पनि पुष्पार्पण गरिएको थियो। शालिग अनावरणको साथसाथ राष्ट्रिय जन-गण-मनको गीत गुञ्जिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई शालिग निर्माण कमिटीको मुख्य संरक्षक समाजसेवी पासाङ लामाको बाहुलीबाट खदा पहिराएर स्वागत गरिएको थियो भने सालिक निर्माण कमिटीको पक्षबाट मुर्तिकार किरपेन्द्र गुरुङलगायत कमिटीका कर्मठ सदस्यहरु राजीव शर्मा गोर्खा, मिलन माझी, अजय कुमार आले, मोहम्मद गुलाम राजा, नारायण दास (कन्हैया) लाई स्मृति चिन्ह प्रदान गरिएको थियो। सो अवसरमा विभिन्न ठाउँहरुबाट आएका सांस्कृतिक टोलीका कलाकारहरुले देशभक्ति गीतमा नृत्य साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
सालिक निर्माण कमिटीको महासचिव अजय कुमार आले र बिक्रम सापकोटाको संयुक्त उद्घोषणामा सम्पन्न सो समारोहमा मुख्य संरक्षक तथा कान्ताराम लामा परिवारको प्रमुख सदस्य समाजसेवी पासाङ लामाले आजको यो समारोह ऐतिहासिक रहेको र शहीद मेजर दुर्गा मल्लको सालिक स्थापनाको मुख्य उद्देश्य साम्प्रदायिक सद्भाव र एकताको सन्देश दिनलाई रहेको र आगामी दिनमा यसैगरी डा.राजेन्द्र प्रसाद, नेताजी सुभाषचन्द्र बोस, बिरसा मुण्डा एवम् अन्यान्य विभूतिहरुको पनि विभिन्न ठाउँहरुमा सालिक स्थापना गरिने जनाएका छन।










