भद्रपुर: कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले चाडपर्वको पूर्व सन्ध्यामा विजया दशमीको शुभकामनासहित चाडपर्वलाई हर्षोल्लास र आपसी सद्भावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन निर्देशन गरेका छन्।
उनले आम नागरिकको जनजीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरू तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागूऔषधको प्रयोग तथा ओसारपसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरूको ओसारपसारलाई नियन्त्रण गर्न सीमा नाकाहरूमा कडाईका साथ चेकजाँच गर्न निर्देशन दिए।
साथै, चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरूको आवतजावत बढी हुने हुँदा यात्रुहरूको सहजताको लागि यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नदिन ट्राफिक व्यवस्थापन मिलाउनसमेत निर्देशन दिए।
उनले तास, जुवा, जाँड, रक्सी सेवन, लागूऔषधको प्रयोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाईका साथ निरन्तरता दिन र विशिष्ठ व्यक्तिहरूको सुरक्षा तथा महत्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षामा त्रुटिरहित तवरबाट सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।