नेपालको वर्षाले भारतसम्म असर

IMG-20241004-WA0077

बिहारका १६ जिल्लामा भीषण बाढी, १६ लाख मानिस प्रभावित

भद्रपुर: नेपालमा गत बिहीबारदेखि तीन दिन परेको अविरल वर्षाका कारण भारतको बिहारमा बाढीको कहर आएको छ। नेपालमा भारी वर्षापछि बिहारका करिब १६ जिल्लामा बाढी आएको भारतीय स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
बिहारको दरभंगा, सीतामढी, बेतिया, बगाहाजस्ता जिल्लाको अवस्था निकै खराब रहेको समाचारमा उल्लेख छ। बाढीले राज्यका धेरै तटबन्धहरू भत्किएका छन्। राहत र उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ।
समाचार स्रोत अनुसार राज्यका लगभग सबै नदीको जलस्तर बढेको छ। जसका कारण धेरै जिल्लाको अवस्था नियन्त्रण बाहिर गएको छ। सरकारले एनडीआरएफको १२ टोली र एसडीआरएफको २२ टोली उद्धार कार्यमा खटाएको छ।
बिहारका एक अधिकारुीले बताएअनुसार धेरै साना नदीहरूमा पानीको स्तर घटे पनि अवस्था अझै गम्भीर छ। बाढीबाट १६ लाखभन्दा बढी मानिस प्रभावित भएको समाचार उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार किरातपुर ब्लकको शहरसा क्षेत्रमा रहेको कोशी नदीको बाँध फुटेको छ। बाँध भत्किँदा एक लाख जनसंख्या प्रभावित भएको छ।
मोतिहारीमा सोमबार सिकरहना खोलाको सुगौलीमा बनेको चक्रपथ पनि फुटेको थियो। सीतामढीमा पनि अवस्था निकै नाजुक छ।
पश्चिम चम्पारणमा पनि गण्डक नदीको तटबन्ध भत्किएपछि वाल्मीकि टाइगर रिजर्भमा बाढीको अवस्था देखिएको समाचारमा उल्लेख छ।
शेओहरमा पनि एक ठाउँमा बाँध फुटेको छ। बाँध फुटेपछि १० पञ्चायतका ३० गाउँमा संकटको अवस्था छ। बाढीका कारण सुपौल, बगाहा, बेतिया, सहरसा, गोपालगञ्जमा सयौं घर डुबानमा परेका छन्। सुपौलमा मानिसहरू आफ्नो घर छोडेर अन्यत्र बस्न बाध्य छन्।

दरभंगा जिल्लाका तीनवटा ब्लक बाढीको चपेटामा परेका छन्। ५० भन्दा बढी गाउँका करिब दुई लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण सात हजार हेक्टर क्षेत्रफलमा क्षति पुगेको अनुमान गरिएको छ।
पानी घटेपछि यी क्षेत्रका बाली क्षतिको मूल्यांकन गरिने समाचारमा उल्लेख छ। त्यसपछि उनीहरूलाई क्षतिपूर्ति दिइनेछ। जिल्ला अधिकारीले प्रभावितलाई खाद्यान्नका प्याकेट उपलब्ध गराउने व्यवस्था पनि गरेका छन्।
भारतको गृह मन्त्रालयको प्रतिवेदनअनुसार प्रदेशका गण्डक, वाग्मती, धरधा, गंगा, बूढी, कोशी अध्वर, कमला बालान, कमला, महानन्द, परमान र फुलहार नदीमा पानीको बहाव खतराको तहभन्दा माथि छ।
तर, बिहारमा भने ठूलो पानी परेको छैन। केही दिनयता भारतका विभिन्न जिल्लामा भने भारी वर्षा भइरहेको समाचारमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement