भद्रपुर: शनिवारसम्म परेको निरन्तरको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण देशकै प्रमुख कृषि उत्पादक जिल्लाको रुपमा परिचित सुनसरीमा किसानहरुले लगाएको धान र तरकारी वालीमा ठूलो क्षति पुगेको छ।
धानको फूल फूल्ने समयमा परेको वर्षाको कारण फूल झर्दा त्यसैपनि धानको उत्पादन कम हुने स्थितिमा बाढीले धान बाली बगाउँदा र चुर्लुम्म डुबाउँदा झनै ठूलो क्षति पुगेको छ।
सुनसरी किसानहरुलाई अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने र खेतीका लागि लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ।
अझै सबैभन्दा बढी क्षति भने सेप्टेम्बरमै पाकेर तयार भई किसानहरुको दशै मान्ने खर्च जोहो गरिदिने घुटराज जातको धान लगाएका किसानहरु भने झनै समस्यामा परेका छन्। पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान रामवृक्ष मेहता बताउँछन। भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उनले बताए।
भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन्। यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिए। लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उनले बताए।
किसानले वार्षिक रुपमा मजदुरकाको अभावका साथै आर्थिक संकट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताए। ‘सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ’, उनले भने।
यो वर्ष सुनसरीमा उत्साहजनक रुपमा धान खेती भएकोमा यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएकोमा पछिल्लो वर्षाका कारण यसवर्ष धानको उत्पादन घट्ने स्थिति उत्पन्न भएको कृषि कार्यालयले जनाएको छ।
त्यस्तै मुलुककै प्रमुख तरकारी उत्पादक जिल्लाको रुपमा रहेको सुनसरीका किसानहरुले अक्टूबर नवंबरमा बजारमा ल्याउने गरी रोपेका तरकारीहरु पनि बाढीले पूर्ण नष्ट भएका छन भने अहिले तयारी अवस्थामा रहेका तरकारीहरु पनि बाढीले डुबाएर मर्न थालेका छन्। जसका कारण अहिले सुनसरी जिल्लामा तरकारीको मुल्य आकासिएको छ। इनरुवा थोक कृषि बजारका अनुसारअनुसार अहिले अन्य वर्षको यही समयको तुलनामा हरियो तरकारीको मुल्यमा चार सय प्रतिसतसम्म बढी मुल्य रहेको छ।
यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन्। जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए।
कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए।
सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन्भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उनले जानकारी दिए।
बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिए।
खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताए। दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पु¥याएको उनको भनाइ छ।
बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।