भद्रपुर: लामो समयदेखि स्थानीयहरुले विरोधका विच निर्वाध सञ्चालन हुँदै आएको सुनसरी जिल्ला दुहबी-६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको प्रतिनिधिसभा सदस्य भगवती चौधरीले अनुगमन निरीक्षण गरेकी छिन।
त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् दुहबी प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीयबासीहरू सहितको टोलीसहित निरीक्षण तथा अनुगमन गरिएको हो।
अनुगमनको आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा समेत उद्योगको गेटमै रोक्न उद्योग प्रशासनले प्रयास गरेकोमा नेपाल प्रहरीले हस्तक्षेप गरि अनुगमन गर्न सहजीकरण गरेको थियो।
अनुगमनको क्रममा युनाइटेड टनेरिजले उद्योग सम्बन्धी कागजात देखाएको भएपनि एशियन लेदरले कागजात घरमा रहेको भन्दै मगाउन समय लागेको भनेर उपलब्ध गराउन सकेन।
युनाइटेड टनेरिजलाई जिल्ला प्रशासन कार्यालयले तत्काललाई उद्योग बन्द गर्न निर्देशन दिँदै गत सेप्टेम्ब२२को पत्र पठाएको भएपनि उद्योग भित्रभित्रै चलिरहेको तथा उद्योगबाट निस्किएको फोहोर पानी बुढी खोलामा मिसाएको भेटिएको थियो।
उद्योग सञ्चालन सम्बन्धी मापदण्डमा बस्तीबाट ५ किमी टाढा हुनुपर्ने व्यवस्था भएपनि उक्त छाला उद्योग बस्तीको बिचैमा रहेको पाइएकोले बस्तीमा दुर्गन्ध नफैलाउन, फोहोर खोलामा नहाल्नका लागि उद्योग स्थानान्तरण गर्न आवश्यक रहेकोले कारवाही र सचेतनाका लागि निर्देशन दिएको सांसद चौधरीले बताईन्।