कोशी प्रदेशबाट मनसुन तत्काल नबाहिरिनेदशैंको टीका अघिसम्म वर्षाको सम्भावना

IMG-20241004-WA0043

भद्रपुर: पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेपनि कोशी प्रदेशको आकासमा भने मनसुन अझै लामो समय रहने सम्भावना देखिएको छ। दशैको टिकासम्म पनि मनसुन कायमै रहने स्थितिले गर्दा कोशी प्रदेशमा यस वर्षको दशै हिलो दशै हुने सम्भावना छ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक बुधवार हो। तर मनसुन बाहिरिएको छैन। पश्चिमबाट मनसुन बाहिरिन थालेपनि कोशी प्रदेशमा भने यो कायमै रहने देखिएको छ।
मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन्।
सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने दशैंको टीकाको दिनसम्मै मनसुन कायम रहने सम्भावना छ। यस वर्षको दशैंको टीका असोज २६ गते अर्थात् अक्टुबर १२ तारिकमा छ।
‘मनसुनी वायु रहेसम्म वर्षाको सम्भावना पनि कायमै रहने भएकाले कोशी प्रदेशमा हिले दशैंको सम्भावना रहन्छ,’ मौसमका अध्येता डा. धर्मराज उप्रेतीले भने, ‘तर अघिल्ला दिनहरुको जस्तो भारी र अति भारी वर्षा भने हुँदैन।’
सुदूरपश्चिमका जिल्लामा भने मनसुन छिट्टै बाहिरिन सुरु हुने सम्भावना छ। सम्भवत सुदूरपश्चिममा आगामी शनिबारदेखि मनसुन बाहिरिन सुरु हुनेछ। तर पूरै नेपालबाट बाहिरिने सम्भावना भने अक्टुबर दोस्रो हप्तातिर मात्रै रहेको मौसमविदको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन केही दिन लाग्ने सम्भावना छ, हामी त्यसलाई नजिकबाट हेरिरहेका छौं र अत्यावधिक गर्दै जाने छौं।’
हाल भारतको गुजरात र पश्चिमको आसपासबाट मनसुन बाहिरिसकेको छ। तर भारतको सबै भूभागबाट भने बाहिरिसकेको छैन। मनसुनी वायुलाई धकेल्ने त्यो पश्चिमी वायु भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमको भूभागमा प्रवेश गरेर पूर्वतिर सर्दै जाने छ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ। तर यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १०) नेपाल भित्रिएको थियो।
नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो। सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ। यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४सम्म) मात्र मनसुन कायम थियो।
जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ। यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १५ सय मिलिमिटर वर्षा हुन्छ। यस वर्ष असोज दोस्रो सातासम्म पूर्वानुमान गरिएअनुसार नै सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ। यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement