मुम्बई: भारतकी अनुभवी महिला बक्सर एमसी मेरिकोमले पेरिस ओलम्पिकमा १०० ग्राम अधिक ओजनले गर्दा पहलवान विनेश फोगाट पदक जित्नदेखि चुकेको निराशा व्यक्त गर्दै तय सीमाभित्र ओजनलाई कायम राख्नु खेलाड़ीको व्यक्तिगत जिम्मेवारी रहने बताइन्। ओलम्पिक पदक विजेता तथा ६ पल्टकी वर्ल्ड च्याम्पियन ४२ वर्षीय मेरिकोमले भनिन्, विनेशको घटनाले म निराश भएकी थिएँ। म यतिका सालहरूदेखि आफै ओजन प्रबन्धन गर्थे। ओजन महत्त्वपूर्ण हुन्छ अनि त्यो मेरो जिम्मेवारी थियो। आफ्नो गल्तीको निम्ति म अन्य कसैलाई दोषी ठहऱ्याउन सक्दिनँ। मैले विनेशको मामिलामा यस्तो भन्न चाहेकी होइन। म केवल मेरो कुरा गरिरहेकी छु। कुनै पनि एथलीटको लक्ष्य पदक जित्ने हुन्छ। यसको निम्ति उनीहरूले आफ्नो जिम्मेवारी पालन गर्नु पर्छ अनि आफ्नो ओजन आफै प्रबन्धन गर्नु पर्छ। मणिपुरकी यस बक्सरले पिन वेट (४६ किग्रा) वर्गबाट शुरु गरेकी थिइन् अनि पछिबाट अमेच्योर करियरमा फ्लाईवेट (५१ किग्रा) वर्गमा खेल्न थालेकी थिइन्। मेरिकोम खेल मन्त्री मनसुख माण्डवियासँग भारतीय बक्सिंगमाथि चर्चा गर्न चाहन्छिन् कारण पेरिस ओलम्पिकमा देशका बक्सरहरूको प्रदर्शनले उनी निराश छिन्। भारतीय बक्सिंग टीमले पेरिसमा एउटा पदक पनि जित्न सकेन। मेरिकोम ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय महिला बक्सर हुन्। उनले २०१२-को लण्डन ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। उनले भनिन्, पेरिसको नतीजा हामी सबैलाई थाहा छ। अहिले खेलाड़ीहरूका तयारीमा कुन कुराको कमी थियो भन्ने मलाई जान्ने इच्छा छ। आवश्यकता परे म बक्सरहरूसँग भेट गरेर कुराकानी गर्न चाहन्छु।