खरसाङ: खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको आयोजनामा ग्राम सभा, स्वच्छता ही सेवा अभियान अन्तर्गत समापन कार्यक्रम साथै राष्ट्रपिता महात्मा गाँधीको जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। पञ्चायत सदस्य दिपेस थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भूतपूर्व सैनिक अनरेरी कप्तान सुरेन तामाङ उपस्थित रहेका थिए।

चिमनी देवराली ग्राम पञ्चायतद्वारा गाँधी जयन्तीको साथमा ग्राम सभा टके पनि आयोजना गरेको छ। विशेष गरेर २०२५-२६ को एक्शन प्लान र ग्राम पञ्चायत विकास योजनाको विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ। यसै कार्यक्रममा विगत १७ सेप्टेम्बरदेखि देशभरमा चलिरहेको स्वच्छता ही सेवा अभियान अन्तर्गत समापन कार्यक्रम पनि सम्पन्न गरिएको छ। कार्यक्रममा चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रमा विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना र सम्मान पनि जनाइएको छ।

यस क्रममा भूतपूर्व सैनिक अनरेरी कप्तान सुरेन तामाङलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै चिमनी स्वस्थ्य उप केन्द्रको एएनएम सरोजिनी देवान, विद्युत विभागमा कार्यरत् चिमनी बस्ती छ माइल निवासी दावा छिरिङ शेर्पा र उच्च माध्यमिक परीक्षामा ९१.०४ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएका मजुवा बस्ती निवासी अनुस राईलाई सम्मान जनाइएको छ। कार्यक्रममा चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रका मानिसहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको जानकारी प्राप्त भएको छ।