बेजिंग: स्पेनका कार्लोस अल्काराजले शीर्ष वरीयता प्राप्त इटलीका यानिक सिनरलाई तीन सेटको संघर्षपूर्ण फाइनलमा ६-७ (६), ६-४, ७-६ (३)-ले पराजित गरी चीन ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। यस जीतको साथै अल्काराजले यस साल सिनरमाथि आफ्नो श्रेष्ठता कायम राखे। यो सिनरविरुद्ध यस साल तीनवटा म्याचमा अल्काराजको तेस्रो जीत हो। यसअघि उनले सिनरलाई इण्डियन वेल्स र फ्रेञ्च ओपनको सेमिफाइनलमा पराजित गरेका थिए। यस हारको साथै गत विजेता सिनरको लगातार १४ वटा म्याचदेखि जारी विजयाभियानमा पनि ब्रेक लाग्यो। अल्काराजले निर्णायक टाई ब्रेकरमा लगातार ७ पोइण्ट्स जितेर खिताब आफ्नो झोलीमा हाले। सिनरको निम्ति यस म्याचमा ध्यान केन्द्रित गर्नु मुश्किल थियो कारण विश्व डोपिंग रोधी एजेन्सी (वाडा)-ले शनिवार डोपिंगको मामिलामा उनलाई क्लीन चीट दिने फसेलाविरुद्ध अपील गर्ने बताएको थियो। वाडाले उनीमाथि १ या २ सालको प्रतिबन्ध लगाउने माग गरेको छ। सिनरलाई मार्चमा दुईपल्ट प्रतिबन्धित पदार्थको सेवनको दोषी पाइएको थियो तर एउटा स्वतन्त्र ट्रिब्यूनलले उनलाई अगस्तमा क्लीन चीट दिएको थियो।
यसबीच महिला एकलमा विश्व ऱ्याङकिंगमा दोस्रो स्थानमा रहने बेलारुसकी आर्यना सबालेंकाले मेडिसन कीजलाई सीधा सेटमा ६-४, ६-३-ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरिन्। यसको साथै उनले आफ्नो करियरको सर्वश्रेष्ठ १५ वटा लगातार जीतको पनि बराबरी गरिन्। तीनपल्टकी ग्राण्ड स्ल्याम विजेता सबालेंकाले अगस्तमा सिनसिनाटी ओपन टुर्नामेण्ट जितेर यस विजयाभियानको शुरुवात गरेकी थिइन्। त्यसपछि उनले गत महिना सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनमा पनि जीतको क्रम जारी राखिन्। सबालेंकाले यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको खिताब पनि जितेकी थिइन्। यसअघि सबालेंकाले २०२०-२१-को सीजनमा पनि लगातार १५ वटा म्याच जितेकी थिइन्। अब क्वार्टर फाइनलमा २६ वर्षीय सबालेंकाको भिड़न्त चेक गणराज्यकी क्यारोलिना मुचोवासँग हुनेछ, जसले स्पेनकी क्रिस्टीना बुक्सालाई ६-२, ६-०-ले पराजित गरिन्।